काठमाडौं, माघ २७ । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को सप्ताह चलिरहेको बेला सरकारले बाह्य देशबाट हुने गुलाफको फूल आयातमा रोक लगाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयातका लागि अनुमतिपत्र जारी नगर्न क्वारेन्टाइन कार्यालयहरूलाई निर्देशन दिएको हो ।
केन्द्रकी प्रमुख साबित्री बरालले देशभरका विभिन्न १५ वटा क्यारेन्टाइन कार्यालयलाई आयात रोक्ने निर्देशनसहितको पत्र पठाएकी हुन् । काँकडभिट्ट, भन्टाबारी, विराटनगर, मलंगवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एयरपोर्ट, रसुवा, भैैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमान्थांग र बैतडी क्वारेन्टाइन कार्यालयलाई त्यस्तो निर्देशन दिइएको हो ।
पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा यस केन्द्र तथा अन्तर्गतका कार्यालयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयात गर्नका लागि आयात अनुमतिपत्र जारी नगर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’