काठमाडौं, २७ माघ । सत्तारुढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रको बैठकमा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको थियो । हालै सरकारबाट बाहिरिएको रास्वपालाई पूनः सरकारमा आउन आग्रह गरिएको छ ।
तर, रास्वपाले तत्काल सरकारमा सहभागी नहुने अडान लिएको छ । रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई गृहमन्त्रालय नदिने अडान लिएका थिए । प्रधानमन्त्रीको अडानका कारण रास्वपा सरकारबाट बाहिरिएको हो ।
तर, उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भएको बुझिएको छ । राष्ट्रपतिमा एमालेले दाबी गरेको छ । सरकार गठन गर्नुअघि नै यसबारेमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति भएको थियो ।
आजको बैठकमा भने जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका कोही पनि नेता सहभागी थिएनन् ।