Logo

राष्ट्रपतिको सुरक्षामा चुनौती दिनेलाई नियन्त्रणमा लिनु स्वाभाविक होः एमाले सचिव



काठमाडौं, २८ माघ । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले पार्टीभित्र कसलाई राष्ट्रपति बनाउने भन्ने छलफल नचलेको बताएकी छन् ।
‘हाम्रो पार्टीमा त्यो जिम्मेवारी निर्वाह गर्न सुहाउने सक्षम र योग्य पात्र धेरै अग्रज र आदरणीय नेताहरु हुनुहुन्छ । तीमध्ये एकजना छानेर उम्मेदवार बनाउने हो । बाहिर मिडियाले लेख्नु एउटा कुरा हो, तर सार्वजनिक रुपमा कुनै नेताले इच्छा व्यक्त गरेको छैन । त्यसैले पार्टीको संस्थागत निर्णय नै हाम्रो च्वाइस हो । जो उम्मेदवार भए पनि सर्वसम्मत हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्यालले भनिन् ।
राष्ट्रपति एमालेको भागमा परेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नमान्ने भन्ने प्रश्नै नरहेको पनि उनको दाबी छ । अर्यालले थपिन्, ‘राष्ट्रपति एमालेको भागमा परेपछि पात्र त पार्टीले छनोट गर्ने हो नि । प्रचण्डले किन नमान्ने ? केपी ओली र प्रचण्डबीच दिनका दिन राष्ट्रपतिका बारेमा छलफल भएको र असमझदारी भएको भन्ने होइन । प्रचण्ड र केपीले एकअर्कालाई च्यालेन्ज गरेको भन्ने लाग्दैन । दुई नेताबीच मनमुटावभन्दा हार्दिकता बढिरहेको छ ।’
रवि लामिछानेलाई केपी शर्मा ओलीले गृहमन्त्री बनाउन चाहेको र प्रचण्डले नचाहेको भन्ने समाचार पनि तथ्यपरक नभएको उनको टिप्पणी छ । अर्यालले थपिन्, ‘अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन । सत्ता साझेदार पार्टीलाई सत्तामा आउनुस् भन्नु साझा कुरा हो । रवि लामिछानेलाई ओलीले गृहमन्त्री बनाउन चाहेको र प्रचण्डले नचाहेको भन्ने समाचार पनि सत्य होइन । गठबन्धन बलियो बनाउने दुवै नेताको चाहना छ ।’
गठबन्धन दलहरुबीचको असमझदारी सुदूरपश्चिम प्रदेशमा देखिएको अर्यालले स्वीकार गरिन् । उनले भनिन्, ‘हो, एउटा समस्या खडा भएको छ । गठबन्धनमा विविध भएका पार्टीका प्रवृत्ति छन् । कतिपयले मन्त्री पठाएका छैनन् । उच्चस्तरीय संयन्त्रको बैठकमा पनि गएनन् । घरी सरकारमा जान्छौं भन्ने, घरी जान्नौं, घरी विश्वासको मत दिन्छौं भन्ने, घरी नदिने । कतिपयले अस्वाभाविक माग राख्नुभएको छ । भन्नेबित्तिकै सबैथोक हुन्छ र ? कसैलाई पक्डिने, थुनामा राख्ने कानुन र विधि हुन्छन् नि ।’
राष्ट्रपतिको सवारी सुरक्षामा चुनौती दिनेलाई नियन्त्रणमा लिनु स्वाभाविक भएको एमाले सचिव अर्यालले औंल्याइन् । उनले भनिन्, ‘सुरक्षा र मर्यादाका विधि हिजैदेखिका हुन् । पूर्वराष्ट्रपतिभन्दा फरक केही भएको छैन । आतेजातेमा हिजो जे चलन थियो, त्यही फलो गरिएको छ । राष्ट्रपति यस्तो गर्दे भनेको त होइन नि । अनेकन् फन्डा र भ्रम फैलाउने भएका छन् । उद्दण्डता, अफवाह र अराजकता फैलाउने एकदमै गलत मनसाय राखेर सुरक्षामा चुनौती दिनेलाई नियन्त्रणमा राख्नु राज्यकै दायित्व हो नि ।’ परम्परागत अभ्यास गलत हो भन्ने हो भने त्यसमा छलफल गर्नुपर्ने पनि उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्