Logo

डा. लोचन कार्कीलाई धमलाको प्रश्न– डाक्टरहरू हडतालमा उत्रिनु उचित हो र !



काठमाडौं, २९ माघ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले देशभरिका अस्पतालमा हडताल चिकित्सकको मात्र नभएर आम जनताको पक्षमा भएको दाबी गरेका छन् ।
‘राष्ट्रपतिको सवारीका सवारी सकिएपछि जान्छु भनेर बाटोमा साइकल लिएर उभिएका चिकित्सकमाथि निर्ममतापूर्वक कुटपिट गरी अस्पताल भर्ना भएको स्थिति छ । हामीले चिकित्सकहरुको सेवासुविधा बढाउनका लागि नभएर आम जनताले दिनहुँ भोग्नुपरेको सास्तीका कारण हडताल गरेका हौं । भीभीआईपीको सवारीका नाममा सर्वसाधारण बाटोमा हिँड्न नपाउने, घन्टौं जाम हुने, बिरामी बाटोमै मर्नुपर्ने अवस्थाको अन्त्यमा लागि हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. कार्कीले भने ।
यतिबेला डाक्टरहरु हडतालमा उत्रिनु उचित हो र भन्ने धमलाको प्रश्नमा उनले थपे, ‘पिलो निचोर्दा एकछिन दुख्छ, खिल निस्केपछि निको हुन्छ । सुत्केरी बेथा लाग्दा दुख्छ, तर बच्चा देख्दा आनन्द लाग्छ । हामीले ओपीडी मात्र बन्द गरेका छौं, इमर्जेन्सी खुलै छ । प्रधानमन्त्री कार्यालयमा हामीलाई बोलाइएको छ । हाम्रा कारणले प्रोटोकलमा परिवर्तन आयो भने त्यो सुखद नै हुन्छ नि । सडक पेटीमा उभिएका सर्वसाधारणले सुरक्षाकर्मीको कुटाइ खानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बेला भएन र ?’
डा. कार्कीले भीभीआईको सवारीका नाममा हुने तामझाम तत्काल बन्द गर्नुपर्ने पनि औंल्याए । उनले थपे, ‘यस्ता तामझाममा कति खर्च हुन्छ ? गाडी कति चाहियो, तेल कति चाहियो, मानव स्रोत कति चाहियो ? अर्थतन्त्र डुबेको छ, बैंकसँग पैसा छैन, ऋणीहरु आत्मदाह गरिरहेका छन् । लोकतन्त्र कसका लागि ल्याएको हो ?’
उनले चिकित्सकहरुको सेवा सुविधा पनि राम्रो नभएको र सुरक्षित पनि नभएकाले विदेश पलायन भइरहेको पनि सुनाए । डा. कार्कीले भने, ‘मेडिकल काउन्सिलमा ३२ हजार चिकित्सक दर्ता छन् । तर चिकित्सक संघको निर्वाचनमा जम्मा ९ हजारले भोट हाले । धेरै मानिस बाहिर गएका छन् । बाहिर स्यालरी राम्रो छ, सुरक्षित पनि छन् । चिकित्सकले सुसाइड, डिभोर्स, डिप्रेसन र ब्रेन ड्रेनबाट अब पार पाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्