Logo

अर्गानिक मल कारखाना ६ महिनाभित्रै खोल्छुः मन्त्री साह



काठमाडौं, २९ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले आफ्नो मन्त्रालयमा समस्याका चाङ थुपारिएकाले दीर्घकालीन समाधानका निम्ति लागिपरेको बताएकी छन् ।
‘कृषि मन्त्रालयमा समस्याको चाङ थुपारिएको छ । म मन्त्री भएको एक महिनाभन्दा बढी भए पनि कार्यविभाजन माघ ३ गते मात्र भएको हो । किसानले मूल्य नपाएकाले बाध्य भएर तरकारी सडकमा पोखेका कुरा आइरहेको छ । मैले तरकारीको बजारीकरण, कृषक बीमा, सचीकृत कार्डको व्यवस्था गर्न लागेको छु । किसानको हकहितका लागि छलफल गरिरहेको छु । तत्काल नतिजा नदेखिए पनि किसानको अनुहार हँसिलो हुने गरी दीर्घकालीन समाधानको प्रयास भइरहेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै साहले भनिन् ।
मन्त्री साहले आफू ६ महिनाभित्र अर्गानिक मल कारखाना स्थापना गर्न लागेको पनि बताइन् । उनले भनिन्, ‘अस्ति राष्ट्रपतिको सम्बोधनमा पनि मल कारखानाको कुरा उठेको छ । मल कारखानाका लागि पद्मा अर्यालकै पालामा बजेट छुट्याइएको हो । त्यसलाई गति दिन सरकारको नीति तथा कार्यक्रममा उल्लेख हुन्छ । हामी अहिले रासायनिक मल कारखानाभन्दा पनि अर्गानिक मल कारखाना स्थापना गर्न लागेका छौं । यसले मानिस र माटो दुवै स्वस्थ हुन्छ । ६ महिनाभित्रमा परिवर्तन हुन्छ । यसमा मलाई सबैको साथ चाहिन्छ ।’
राष्ट्रपतिको सवारीका नाममा सरकारमाथि सुनियोजित रुपमा आक्रमण गर्न थालिएको आरोप पनि उनले लगाइन् । मन्त्री साहले भनिन्, ‘राष्ट्रपति भनेको सबैको माता हो, आमा हो । ठूलालाई सम्मान गरेनौं भने हामी कहाँ पुग्छौं ? उहाँको स्कर्टिङ पनि कहीं घन्टौं हुन्छ ? राष्ट्रपतिको सवारी नभए पनि हामी जाममा परिरहेकै छौं काठमाडौंमा । सरकार असफल पार्न सुनियोजित रुपमा सबै लागिपरेका छन् । सबैतिर घेराबन्दी गर्दैछन् ।’
चिकित्सकहरुले आन्दोलन गरेर समस्याको समाधान नहुने उनको दाबी छ । मन्त्री साहले भनिन्, ‘नियोजित तरिकाले डाक्टरलाई कुटिएको होइन । परिस्थितिले लाठी उठेको हुन सक्छ । यसलाई ठूलो इस्यु बनाएर आगोमा घिउ थप्नु बेठिक हो ।’



प्रतिक्रिया दिनुहोस्