Logo

एमाले सांसद सूर्य थापाको प्रतिवाद– आकाश खस्यो भने प्रचण्ड मात्र जोगिनु हुन्छ र !



काठमाडौं, २९ माघ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बारेमा भएका आलोचनाबारे गृहमन्त्रालयको कार्यभार समेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने औंल्याएका छन् ।
‘राष्ट्रपतिले विशेष तामझाम देखाउनुभएको छैन । सरकारले प्रबन्ध गरेको सुरक्षा व्यवस्था अनुसार नै उहाँ शीतल निवासबाट संसद् भवनमा जानुभएको हो । उहाँले आफूखुसी गर्नुभएको हो र ? २०६५ पछि जुन अभ्यास थालिएको थियो, यो त्यसकै निरन्तरता मात्र हो । एकथरी मानिस निन्दा र भर्त्सनाको मौका ढुकेर बस्छन् । मानिसहरुले पुराना कुरा बिर्सिसके, अहिलेको कुरा मात्र गर्छन् । रचनात्मक सुझाव दिने ज्ञान छैन, गालीगलौजलाई नै सबथोक ठान्छन् । तपाईं यो कुरा सरकारलाई किन सोध्नुहुन्न ? यसबारे प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुखले जवाफ दिनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।
राष्ट्रपति भण्डारीले कुनै आलोचनायोग्य काम नगरेको उनको दाबी छ । थापाले थपे, ‘जनताले दुःख पाउनुहुन्न भन्नेमा म पनि सहमत छु । तर यसमा राष्ट्रपतिको के दोष छ र ? सरकारले गरेको व्यवस्था अनुसार राष्ट्रपतिले सुरक्षा पाउने हो । उहाँले यो नै चाहिन्छ भनेर माग गर्नुभएको छ र ? यो राष्ट्रपतिलाई विवादित बनाउने कुरा मात्र हो । उहाँले त बरु सरकारले किन्ने निर्णय गसरसकेको महँगो मूल्यका कार्गेड खरिद नगर्न भन्नुभएको होइन र ?’
तपाईंको पार्टी अध्यक्ष केपी शर्मा ओली त रविलाई गृहमन्त्रीमा फर्काउन, सुदूरपश्चिममा सरकार जोगाउन र राष्ट्रपतिमा सहमति खोज्न असफल हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा सांसद थापाले भने, ‘लुम्बिनीकी मन्त्री कृष्णा केसी नमुनाले सत्ता गठबन्धनको बाहिरको उम्मेदवारलाई भोट मागेर र बोकेर किन हिँड्नुभयो ? यस्ता बिब्ल्याँटा र कोक्ल्याँटा काम गर्न मिल्छ कि मिल्दैन ? तर सुदूरपश्चिमको सरकार नटिकोस् भन्ने प्रचण्ड पनि चाहनुहुन्थेन । सरकारलाई समर्थन गरेको पार्टीले तातै खाऊँ, अहिल्यै जेलबाट निकालुँ भन्न मिल्थ्यो कि मिल्थेन ? मुलुक आदेशमा चल्दैन, कानुनले मात्र चल्छ । रविका बारेमा संवैधानिक इजलासले निद्रामै आँखा मिचेर त्यति पर गएर बोल्नुपर्थ्र्यो कि पर्दैनथ्यो ?’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पुस १० को सहमति तोड्न नसक्ने सांसद थापाको जिकिर छ । उनले भने, ‘आकाश खस्यो भने के हुन्छ ? तपाईं जोगिनुहुन्छ ? प्रचण्ड जोगिनुहुन्छ ? कोही जोगिन्छ ? प्रचण्डले त्यसपछि पनि अराजनीतिक, अनैतिक र गलत रुपमा प्रधानमन्त्रीमा टिक्छु भन्ने ढंगले सोच्नुभएको होला ?’



प्रतिक्रिया दिनुहोस्