काठमाडौं, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम् प्रवक्ता ज्ञानेन्द्र शाहीले अब हुन लागेको राष्ट्रपतिको निर्वाचनमा भाग नलिने बताएका छन् । शाहीको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । वीर अस्पतालका चिकित्सक कुटिएको विषयमा आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गर्ने क्रममा शाहीले राष्ट्रपतिको निर्वाचनमा आफूले मत नहाल्ने बताएका थिए ।
उनले राष्ट्रपतिको निर्वाचन बहिष्कार गर्ने प्रस्ताव पनि लैजाने बताएका छन् । उनले अब बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिको निर्वाचनमा भाग नलिनेबारे आफूले प्रस्ताव लैजाने सुनाए ।
राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । त्यसको लागि फागुन १३ गते राष्ट्रपतिको लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले लिने सहमति छ । तर, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने राष्ट्रपतिमा साझा सहमति खोजिने बताउँदै आएका छन् ।
आजपनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । तर, सो बैठकमा राष्ट्रपतिको निर्वाचनबारे कुनै छलफल नै नभएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । file photo