Logo

बैंकको चर्को व्याज नघट्ने हो भने हामी ‘प्रेम आचार्य’ हुनसक्छौं– अच्युतम् कटुवाल



काठमाडौं, २९ माघ । नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । ‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंका अध्यक्ष अच्युतम् कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण व्यवसायीहरु प्रेम आचार्य हुने अवस्था आएको बताएका छन् । ‘अहिले व्यपार व्यवसायहरु बन्द गर्नुपर्ने स्थिति छ । हामी सबै व्यवसायी साथीहरुलाई प्रेम आचार्य हुनलाई त्यति गार्हो नहोला भन्न सकिन्न । हामी सम्पूर्ण प्रेम आचार्य हुनसक्छौं । त्यो कारण बैंकको चर्को व्याज हो,’ उनले भने । बैंकको चर्को व्याजको ज्यादती विरुद्ध आन्दोलनमा उत्रनुको कुनै विकल्प नभएको उनको भनाइ छ । व्यसायी पीडामा छटपटाइरहेको बेला सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ । व्यापारीलाई सडकमा आउने स्थितिको निर्माण सरकार स्वयंले गरेको उनको दाबी छ । सरकार व्यवसायीको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउँदै उनले सरकारले व्यसायीका लागि सहज वातावरण बनाउन पर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot