Logo

राष्ट्रपतिमा सहमति भएन भने सांसदहरूले स्वविवेक प्रयोग गर्छन्ः देव गुरुङ



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले फागुन १ को जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु उचित भएको बताएका छन् ।
‘अहिले मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता आदि जे जति परिवर्तन भएका छन्, त्यसको जग भनेको १० वर्षे जनयुद्ध हो । तसर्थ जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिनु सकारात्मक हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
सत्तारुढ दलहरुबाटै यो निर्णयको विरोध भइरहेको छ नि भन्ने धमलाको प्रश्नमा महासचिव गुरुङले भने, ‘जनयुद्धप्रति कतिपय दलहरुको फरक धारणा हुनु स्वाभाविक हो । तर संविधानको मूलभावनाभन्दा बाहिर जाने छुट कसैलाई छैन । लोकतन्त्रमा फरक मत राख्न सकिन्छ तर फरक मतसहित सहमति र सहकार्य गरेर जानुको सम्मान गर्नुको विकल्प छैन ।’
उनले माओवादीको मात्र नभएर कांग्रेस र एमालेले उठाएका आन्दोलन पनि शान्तिपूर्ण नभएको जिकिर गरे । गुरुङले थपे, ‘शान्तिपूर्ण आन्दोलनमा त नसोचेका घटना हुन्छन् भने सशस्त्र आन्दोलनका सन्दर्भमा कतिपय त्यस्ता घटना भएनन् भन्न सकिँदैन । विश्वभरि नै नापेर तौलेर आन्दोलन हुँदैनन् । बिदा दिने कि नदिने समीक्षाको पाटो होला । तर १० वर्षे जनयुद्धको उचाइ र महत्त्वलाई न्यूनीकरण गर्न मिल्दैन ।’
राष्ट्रपति कुनै दल विशेषको नहुने भएकाले यसमा सहमति खोज्नु स्वाभाविक प्रक्रिया भएको पनि उनले टिप्पणी गरे, ‘मलाई राष्ट्रिय सहमति असम्भव भन्ने लाग्दैन । राष्ट्रपति कुनै दलविशेषको होइन, सत्तापक्ष र विपक्ष पनि होइन । राष्ट्रिय एकताको रक्षाका लागि लागि सबै दलले समर्थन गर्ने खालको साझा राष्ट्रपतिको खोजी स्वाभाविक छ । तर राष्ट्रपतिमा सहमति खोज्नैहुन्न भन्ने सिद्धान्त बेठीक हो । सहमति भएन भने सांसदहरुले स्वविवेक प्रयोग गर्छन् ।’



प्रतिक्रिया दिनुहोस्