काठमाडौं, १ फागुन । परराष्ट्रमन्त्री डा. विमला पौड्यालले भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँगको भेटमा विकास सहायताको बारेमा कुराकानी भएको स्पष्ट पारेकी छिन् । आफूले जलवायु परिवर्तनबाट भएको असर र यसको रोकथामबारे पनि कुरा राखेको उनको भनाई छ ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका हुन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज (सोमबार) काठमाडौं आईपुगेका हुन् ।
काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका थिए। सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको हो ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको उनको यो पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ । यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
https://www.facebook.com/RishiDhamalaOfficial/videos/414729467524955
Photo & Video By: Mukunda Kalikote/ReportersNepal