काठमाडौं, फागुन २ । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका सवारीसाधन बन्द गरिने जनाएका हुन् ।
ट्राफिक प्रहरीले ऐनविपरीत जरिमाना असुल्ने, चालकको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुलीलगायत मनोमानी गरेको उनीहरूको आरोप छ । यसअघिसमेत ट्राफिक प्रहरीले जरिमानाका नाममा मनोमानी गर्ने गरेको भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिँदै आइरहेका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरले उठाएका माग तत्कालै सम्बोधन गरिनुपर्ने बताए । उनले कानुन संशोधनलगायतका नीतिगत विषय सम्बोधन गर्नेगरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने जानकारी दिए ।
राईका अनुसार यातायात मजदुरलाई नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी शैलीमा कुटपिटसमेत गर्दै आएका थिए । उनका अनुसार सो कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित करिब ३० जनाको समूहले हातपात गरेपछि आन्दोलन चर्किएको थियो ।
‘ट्राफिक जरिमानाविरुद्ध हाम्रा १० बुँदे माग थिए, शान्तिपूर्ण आन्दोलनमार्फत हाम्रा माग सार्वजनिक गर्ने कार्यक्रम थियो, सो क्रममा गुन्डागर्दी शैलीमा यातायात मजदुरमाथि आक्रमण हुँदा आन्दोलन चर्कियो, अब हाम्रा माग पूरा नहँुदासम्म उपत्यकामा सार्वजनिक यातायात बन्द गर्छौं,’ राईले राजधानीसँग भने ।
यातायात मजदुरको आन्दोलनले सोमबार उग्ररूप लिँदै गएपछि नयाँ बसपार्क क्षेत्रको गोंगबु, माछापोखरी, बालाजुलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको थियो भने सर्वसाधारणलाई हिँडडुल गर्नसमेत असहज भएको थियो । सो अवस्था नियन्त्रणमा लिन खोज्दा प्रहरी र आन्दोलनकारीबीच पटकपटक झडप भएको थियो । आन्दोलका क्रममा प्रदर्शनकारीले बालाजु वृत्तका बा२झ १४४ नम्बरको स्कोर्पियो र बा१झ ७२२४ नम्बरको माज्दा गाडीमा आगजनी गरेका थिए ।
यस्तै, यातायात मजदुरले प्रहरीको अस्थायी बिटमा पनि आगजनी गरेका छन् भने ल्होत्से मलमा पनि आगजनी र तोडफोड गरिएको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट