काठमाडौं, फागुन २ । नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन् ।
एक महिनाबीच अमेरिकाबाट उनको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडी प्रमुख समान्था पावरले भ्रमणमा आएका थिए ।
अमेरिकी दूतावासका अनुसार उपसहायक विदेशमन्त्री अख्तरले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९ईसीमोड० तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने कार्यक्रम छ । दुईदिने औपचारिक भ्रमण क्रममा उनले नेपाली सेना र सरकारी अधिकारीसँग पनि भेटघाट गर्नेछन् ।
‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्य, लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धि अगाडि बढाउने विषयमा छलफल गर्नुहुनेछ,’ दूतावासले भनेको छ ।
अर्को साता पनि अमेरिकाबाट भ्रमण हुँदै छ । यससँगै एक महिना अवधिमा लगातार चार भ्रमण हुनेछन् । अफ्रीन अख्तरको भ्रमणपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउने भएकी छन् ।
एक महिना अवधिमै लगातार चार उच्च अधिकारीको काठमाडौं भ्रमण भएको यो पहिलोपटक हो । यसले नेपाललाई अमेरिकाले उच्च प्राथमिकतामा राखेर हेरेको विश्लेषकको अनुमान छ ।
कतिपयले ‘भूराजनीतिका’ कारण अमेरिकी भ्रमण बाक्लो भएको आशंका गरिरहेकै समय यूएएआईडीकै प्रमुख सामन्था पावरले नेपालमा अमेकिरी लगानी कुनै ‘भूराजनीतिक गतिशीलताको उपज नभएको’ बताएर आशंका मेटाइदिएकी थिइन् । राजधानी दैनिकबाट