काठमाडौं, फागुन २ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले सोमबार भेटवार्ता गरेका छन् ।
सोमबार नेपाल आएका विदेश सचिव क्वात्राले नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गरे। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्ने भारत भ्रमणको तयारीबारे भेटवार्तामा कुराकानी भएको थियो। उनका अनुसार प्रधानमन्त्रीसँगको भेटमा विदेश सचिव क्वात्राले भ्रमणका लागि आफूहरू तयार रहेको जानकारी गराएका छन्।
भ्रमणको मिति भने तय भएको छैन तर प्रधानमन्त्री प्रचण्डले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि मात्र विदेश भ्रमण गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार नै कञ्चनपुरमा आयोजित एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए। प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा र संस्कृतिलगायतका विषयमा छलफल भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग गरेको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो। भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा पौड्यालले जानकारी दिईन्। उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा समेत छलफल भएको बताईन्। गोरखापत्र दैनिकबाट