Logo

यातायात व्यवसायी आन्दोलनमा छैनौंः स्वाँर



काठमाडौं, २ फागुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले उपत्यकामा सार्वजनिक सवारी हडतालको आवश्यकता नभएको टिप्पणी गरेका छन् ।
‘हिजो दिउँसो मजदुर साथीहरुले नयाँ बसपार्कमा सभा गर्न खोज्दा ल्होत्से बहुउदेश्यीय प्रालिका सुनील कुँवरले यहाँ डिस्टर्ब हुन्छ, पार्टी प्यालेसमा गएर सभा गर्नोस् भन्दा मजदुर साथीहरुको बीचमा घुसपैठ भएर धनजनको क्षति हुनु दुःखद हो । अब त्यसको छानबिन गरी सबै पक्ष सम्हालिएर अगाडि बढ्नुपर्छ । अहिले सार्वजनिक सवारी हडतालको आवश्यकता छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्वाँरले भने ।
उनले राज्य, नागरिक र व्यवसायीलाई अप्ठ्यारो हुने गरी काम नगर्न पनि आग्रह गरे । स्वाँरले थपे, ‘अस्ति यातयात तथा पूर्वाधार मन्त्रालयमा सार्वजनिक यातायात क्षेत्रका समस्याबारे सहमति भइसकेको छ । त्यस अनुसार यातायात व्यवस्था विभागको महानिर्देशकको नेतृत्वमा समिति गठनसमेत भइसकेका बेला राज्य, नागरिक र व्यवसायीलाई अप्ठ्यारो हुने गरी कसैले पनि काम गर्नुहुँदैन । हामीले बन्द हडतालभन्दा पनि वार्ता र संवादबाट सम्पूर्ण समस्या टुंग्याउनुपर्छ ।’
यातायात व्यवसायीहरु हडतालमा नरहेको पनि उनले स्पष्ट पारे । स्वाँरले भने, ‘हामी व्यवसायी आन्दोलनमा छैनौं । यो हडताल मजदुर संगठनहरुले आह्वान गरेका हुन् । हिजो राति सीडीओ कार्यालयमा बोलाउँदा मजदुर साथीहरु सम्पर्कमा आउनुभएनछ । आज बिहान उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा बोलाउनुभएको छ । त्यही बैठकमा सबै कुरा सहजीकरण हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्