बुटवल, फागुन २ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन्। उनले १० गतेभित्र अँध्यारोमा आएर नभई दिउँसो उज्यालोमा आएर भत्काउने प्रयत्न रहने बताए ।
कांग्रेस रूपन्देही क्षेत्रनम्बर १ ले सोमबार तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताएका हुन् ।
महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेटविपरीत बनेको वर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गरे । नेपाल समाचारपत्र दैनिकबाट