काठमाडौं, फागुन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणबारे सोमबार भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग अनुकूल समयबारे छलफल भएको थियो ।
पहिलो पटक प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण सुरु गरेका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमा नै गरेका थिए । यस पटक पनि पदभार ग्रहण गरेलगत्तै उनले आफ्नो पहिलो विदेश भ्रमण भारतमा नै हुने उल्लेख गरेका छन् ।
भारत भ्रमणको मिति तय नभए पनि प्रधानमन्त्रीले भारत भ्रमणमा ऊर्जा, व्यापार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), कृषि, शिक्षा र संस्कृतिसँगै हवाई सेवालाई पनि प्राथमिकता दिनुपर्ने विज्ञहरूको धारणा छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा यस पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदा हवाई रुट र भैरहवा विमानस्थलमा जडान गरिएका उपकरण सञ्चालनमा थप सहजता हुन सक्ने विश्वास विज्ञहरूको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेन्द्र क्षेत्रीले भारत भ्रमणको समयमा प्रधानमन्त्रीलाई गौतमबुद्व विमानस्थल प्रयोग गरे हवाई रुट र विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनको अनुमति लिन सहज हुने बताए ।
उनले भने, “भारतसँग कूटनीतिक पहल नगरी भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकिने अवस्थामा प्रधानमन्त्रीले नै उडान भरेको जहाजलाई दिल्लीले अवतरणको अनुमति नदिने कुरै हुँदैन । अझै फर्किंदा दिल्लीबाट सिमरा हुँदै भैरहवा वा पोखरा विमानस्थलमा नै अवतरण गर्न सकिए भ्रमण थप फलदायी हुन सक्छ ।”
भारत भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु(याउन भैरहवा–दिल्ली र दिल्ली–सिमरा हुँदै पोखरा उडानले सुनमा सुगन्ध थपिने उनको भनाइ छ । भैरहवामा जडान गरिएको आईएलएस उपकरणको फ्रिक्वेन्सी भारतीय भूमिमा समेत परेकाले सञ्चालनमा कठिनाइ छ । उक्त कठिनाइ उच्चस्तरीय राजनीतिक तहको भेटवार्ताबाट प्रधानमन्त्रीले हटाउन सक्नुहुनेसमेत उनले विश्वास व्यक्त गरे ।
यस्ता उपकरण सञ्चालनको समस्या नेपालमा मात्रै नभएर बङ्गलादेश तथा विभिन्न युरोपेली मुलुकमा समेत रहेकाले भारतले यसको निकास प्रधानमन्त्रीको निकट भ्रमणबाट दिनुपर्ने उनले बताए।
पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीले भ्रमणको प्रमुख मुद्दा नै यसै विषयलाई बनाउन आवश्यक रहेको बताउनुभयो ।
भैरहवाका पर्यटन व्यवसायी सागर अधिकारीले बुद्ध जन्मस्थल लुम्बिनीमा राम कथा प्रवचनका लागि भारतबाट मुरारी बापु लुम्बिनी आएपछि पर्यटकीय गतिविधि बढेको बताए । उहाँले भन्नुभयो, “मुरारी बापुले चार्टर गरेर ल्याएको जहाज भैरहवामा अवतरण गरिसकेको छ । अब प्रधानमन्त्रीको भ्रमणबाट विमानस्थल सञ्चालनका लागि दिगो सम्झौता आवश्यक छ ।”
एसियाली विकास बैङ्क (एडीबी)ले भैरहवा विमानस्थलमा लगानी गर्दा भारतले हवाई मार्गमा कुनै बाधा नहुनेबारे भुटानमा भएको मन्त्रीस्तरीय बैठकमा प्रस्ट पारेको थियो । त्यसपछि मात्रै एडीबीले भैरहवामा लगानी गरेको भन्दै भारत कहिले विमानस्थल सञ्चालनको विरोधी हुन नसक्ने उनको तर्क छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्रीसँग आज हुने भेटवार्तामा यस विषयबारे छलफल गर्ने बताएका छन् । गोरखापत्र दैनिकबाट