Logo

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही



काठमाडौं, फागुन ३ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् ।

नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले वर्ष दिनभन्दा बढी समयदेखि ‘स्मार्ट लाइसेन्स’ पाउन सकिरहेका छैनन् । सन् २०२२ सुरुदेखि नै नयाँ तथा नवीकरण ‘स्मार्ट लाइसेन्स’ आवेदन दिएका करिब ७ लाख सेवाग्राहीले लाइसेन्स पाएका छैनन् । हाल दैनिक २ हजारको संख्यामा लाइसेन्स प्रिन्ट हुन नसकेर थन्किने गरेको छ ।

विभागका अनुसार दैनिक ४ हजार लाइसेन्स प्रिन्ट गर्ने क्षमता रहेकोमा हाल ६ हजार आवेदन आउने गरेका छन् । त्यसमाथि पुरानो लाइसेन्स नै छपाइ गर्न बाँकी छ ।

अत्यावश्यक तथा विदेश जानेका लागि भने अनलाइन फारम भराएर प्रक्रियाअनुसार करिब एक साताभित्रै ‘स्मार्ट लाइसेन्स’ दिइने गरिएको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot