Logo

सेरेमोनियल राष्ट्रपतिलाई केपी ओलीले धेरै दुरुपयोग गरेः बराल



काठमाडौं, ३ फागुन । कूटनीतिज्ञ प्राध्यापक लोकराज बरालले भारतीय विदेशसचिव विनयमोहन क्वात्राको दुई दिने नेपाल भ्रमणका बारेमा अनुमान मात्र गर्न सकिने बताएका छन् ।
‘क्वात्राको भ्रमण नियमित खालको हो । परराष्ट्रसचिव स्तरमा दिल्ली र काठमाडौंमा वर्षमा एक पटक हुँदै आएको हो । उनले यसपटक नेपाली नेताहरुसँग पनि भेटघाट गरेका छन् । के के कुरा भएका छन्, हामीलाई थाहा हुने कुरा भएन । भैरहवाबाट पश्चिम जाने एयर रुटमा जवाफ दिएको छैन, सिमानाको कुरामा जवाफ दिएको छैन । अहिले हामीले गर्ने अनुमान मात्र हो । सन्जोगले केही कुरा मिल्न सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरालले भने ।
विदेशसचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो नदिनुको कारण राष्ट्रपति निर्वाचन नै भएको उनको विश्लेषण छ । बरालले भने, ‘मलाई त उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको चिठी लिएर आउनुहुन्छ कि भन्ने लागेको थियो । आन्तरिक राजनीतिका कारण त्यसमा तलमाथि भएको हुन सक्छ । राष्ट्रपतिको चुनाव आउन धेरै बाँकी पनि छैन ।’
भारतले एमाले इतरको राष्ट्रपति चाहेको हो त भन्ने पत्रकार धमलाको प्रश्नमा बरालले भने, ‘नेपालमा जो राष्ट्रपति भए पनि भारतलाई केही फरक पर्दैन । भारतले चाहेर यहाँ सबै निर्णय भइहाल्छ भन्ने पनि होइन । भारत वा अमेरिकालाई एकदुई प्रतिशत भए पनि नेपाली कांग्रेसका राष्ट्रपति भए सहज हुन्छ भन्ने लागेको हुन सक्छ ।’
अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद काम गरेको र एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै दुरुपयोग गरेकाले यसपालि अलि बढी चर्चा भएको बरालको विश्लेषण छ । उनले भने, ‘सेरेमोनियल राष्ट्रपतिले सक्रिय राजनीति गरेकाले धेरै विवाद भयो । नेताहरुसँग भेट्दा क्वात्राले एमालेको मानिस हुनुहुँदैन भनेका पनि हुन सक्छन्, नभनेका पनि हुन सक्छन् । उनले संकेत नगरे पनि यहाँ भारतले भनेको भनिहाल्छन् । विद्या भण्डारीले आफूलाई राष्ट्रवादी भन्ने गरेकाले कतिपयले भारतविरोधी भन्ने बुझ्छन् ।’
केपी ओलीले हिजोको ‘बडी ल्याङ्ग्वेज’ले सत्तासमीकरण टुट्ने संकेत गरेको पनि बरालले बताए । उनले भने, ‘क्वात्रा यहाँ राजदूत भएर बसेका व्यक्ति हुन् । उनलाई यहाँको धेरै कुरा थाहा छ । ओलीजी त्यही संकेत पाएर पड्केको पनि हुन सक्छ । अब केही भइहाल्यो भने उहाँको अस्त्र त्यही राष्ट्रवाद छँदै छ । उहाँ आफूलाई राष्ट्रको पाले मै हुँ भन्ने ठान्नुहुन्छ । भारतीय सचिव नआएको भए पनि उहाँले भन्ने त्यही हो ।’ ओलीका विश्वासपात्र दुर्गा प्रसाईंले नै हिन्दु राष्ट्र ल्याउने र राजतन्त्र फर्काउने कुरा गर्नु आश्चर्यजनक भएको पनि उनलको टिप्पणी छ । राजा ल्याउने कुरा गरिरहेका छन् ।
बरालले अबको राष्ट्रपति को हुन्छ यसै भन्न नसकिने बताए । उनले भने, ‘नेपाली कांग्रेसको मतले मात्र राष्ट्रपति निर्वाचित हुने स्थिति छैन । अरुले पनि जित्ने आधार त छैन । बाबुराम भट्टराई पनि योग्य हुनुहुन्छ । महन्थ ठाकुर पनि मधेसको ठूलो नेता हो । उहाँहरु भारतको दृष्टिकोणमा ठीकै हुनुहुन्छ होला ।’
पोखरा र भैरहवा विमानस्थलमा चाइनिज हौवा खडा भएको पनि उनले टिप्पणी गरे । उनले भने, ‘चाइनिज लगानी भएकाले भारतले इस्यू बनाएको होला । त्यत्रो पैसा खर्च गरेर पोखरा, भैरहवा किन एयरपोर्ट बनाएको ? अब उड्ने ठाउँ नै छैन । निजगढका बारेमा पनि अब सोच्नुपर्छ । भारतलाई त्यसबाट के सुरक्षा खतरा छ ? चाइनिज हौवा खडा गरेर मात्र त भएन नि ।’



प्रतिक्रिया दिनुहोस्