Logo

एमाले अखिलमा प्रतिस्पर्धा कि सहमति ? आरसी र समिकले एकअर्कालाई छोड्न सक्छन् ?



काठमाडौं, ३ फागुन । सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन सहमतिमा हुन्छ कि प्रतिस्पर्धाबाट हुन्छ भनेर निकै चासोका साथ हेरिएको छ । सात वर्षको अन्तरालमा हिजोदेखि काठमाडौंमा महाधिवेशन सुरु भएको हो ।

नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षद्वय मोती विक र लोकेश निरौलाका साथै महासचिव समिक बडालले बलियो दाबेदारी प्रस्तुत गरेका छन् । पार्टीले हस्तक्षेप नगरे लामिछाने र बडालबीच प्रतिस्पर्धा हुने बलियो सम्भानावना छ । उनीहरु एकले अर्कालाई छाड्ने मनस्थितिमा देखिँदैनन् । सहमति वा प्रतिस्पर्धा दुवै हुने स्थितिमा आफूले जित्नेमा उनीहरु ढुक्क छन् ।
अनुभव र योग्यताका साथै संगठनको वरिष्ठ उपाध्यक्ष भएकाले आफू स्वाभाविक दाबेदार भएको लामिछानेको तर्क छ । उनले निःशुल्क शिक्षा, विद्यार्थी आन्दोलनमा नयाँ आयाम थप्ने लगायतका एजेन्डा अघि सारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लामिछानेले भने, ‘केन्द्रीय कमिटी चुस्त दुरुस्त बनाउने, विद्यार्थी आन्दोलनलाई उचाइमा पुर् याउने कार्ययोजना मसँग छ ।’
तपाईंहरु एकअर्कालाई छाड्न सक्नुहुन्न भन्ने धमलाको प्रश्नमा लामिछानेले भने, ‘पार्टीले सबै नेता कार्यकर्ताको दक्षता र क्षमताबारे नजिकबाट नियालेको हुन्छ । सक्दा सर्वसम्मत नसक्दा विधि र प्रक्रिया अनुसार चयन हुन्छ । हामी सँगै सँगै हिँडेका छौं । सकेसम्म प्रतिस्पर्धा नहोस् भन्ने छ । नेतृत्वमा दाबी छाड्ने मसँग कुनै अप्सन छैन ।’
बडाल गत असोज १ र २ मा सम्पन्न विधान महाधिवेशनको दस्तावेजलाई बोक्ने नेतृत्व चाहिएको बताउँछन् । उनी भन्छन्,’ महासचिव भएदेखि नै नेतृत्वमा मेरो स्वाभाविक दाबेदारी हो । पदाधिकारी साथीहरुको चाहना पनि त्यही छ । तर व्यक्तिगत रुपमा आरसीजीप्रति मेरो कुनै वैरभाव छैन । हिजो पनि सहयोग गरेकै हो । कुरा मेरो र आरसीको व्यवस्थापनमात्रको होइन, सात वर्षदेखि जाम भएको छ । सर्वसम्मति भए ठीकै छ, नभए स्वस्थ प्रतिस्पर्धा पनि लोकतान्त्रिक विधि हो । म हार्दिकतापूर्वक अँगालो मारीमारीकन प्रतिस्पर्धा गर्न तयार छु ।’ उनले विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक सुधार र स्ववियु निर्वाचनलाई मुद्दा बनाएका छन् ।
महाधिवेशनबाट एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, नौ सचिव र एक कोषाध्यक्ष चयन हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्