Logo

प्रचण्डले धोका दिन लागेको ओलीको निश्कर्ष



काठमाडौं, ३ फागुन । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै सत्ता गठबन्धन संकटमा परेको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । त्यसको लागि उम्मेदवारी मनोनयन दर्ता भने फागुन १३ गतेको लागि तोकिएको छ । कांग्रेसका प्रभावशाली नेताहरुले नै फागुन १० गतेसम्म सत्ता गठबन्धन भत्किनेमा विश्वस्त छन् ।

उनीहरुले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बन्ने दाबी गरेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि सत्ता गठबन्धन फागुन १० गतेभित्रै ढल्ने ठोकुवा गरेका छन् । केही पहिलेदेखि नै एमालेले अघि सार्ने राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छोड्ने उद्घोष गर्दै आएका गगनले भर्खरै भैरहवामा आयोजित पार्टीको एक कार्यक्रममा सत्ता गठबन्धनको आयु फागुन १० गतेसम्म मात्रै भएको खुलासा गरे ।

उनले कांग्रेसले उठाउने उम्मेदवार नै राष्ट्रपति बन्ने पनि जिकिर गरेका थिए । थापाको अभिव्यक्तिले राजनीतिमा तरंग पैदा गरेको छ । पुष १० गते प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गरेको कुरा चर्चा छ ।

तर, उक्त सहमति पालना गर्न भने प्रचण्ड अनिच्छुक देखिएका छन् । २६ पुषमा संसद्मा विश्वासको मत लिने क्रममा दाहालले नेपाली कांग्रेसको पनि मत प्राप्त गरेका थिए । संसद्मा अभूतपुर्व विश्वासको मत पाएका दाहालले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्ने बताउन थालेका छन् । दाहालको उक्त अभिव्यक्तिले एमाले नेतृत्व भने चिढिएको छ । एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा यदि समझदारी कायम गर्ने हो भने एमालेले अघि सार्ने उम्मेदवारको नाममा सहमति हुनुपर्नेमा जोड दिएका छन् ।

तर, प्रधानमन्त्री दाहाललाई कुनैपनि हालतमा एमालेलाई राष्ट्रपति नदिन पार्टीभित्रैबाट दबाब छ । आज÷भोलि नै माओवादीले राष्ट्रपतिमा कांग्रेसले अघि सार्ने उम्मेदवारको पक्षमा मत हाल्नेबारे पार्टीबाट औपचारिक निर्णय गर्नसक्ने बुझिएको छ । कांग्रेससँग सहकार्यको लागि जोड दिँदै आएका जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतलगायतले अहिले कांग्रेसका नेताहरुसँग नियमित सम्वाद गरिरहेका छन् ।

एमालेसँगको गठबन्धन गराउन सफल भएका वर्षमान पुन स्वास्थ्य समस्यामा परेपछि पार्टीमा जनार्दन हाबी भएका छन् । अहिले वर्षमान उपचारकोलागि चीन पुगेका छन् । यता, प्रचण्डमाथि जनार्दनलगायतका नेताहरुले कांग्रेससँग सहकार्यको लागि दबाब बढाएका छन् । कांग्रेसभित्र पनि माओवादीसँग सहकार्य गर्नुपर्ने आवाज बलियो बनेको छ । यो बीचमा कांग्रेस महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री दाहालसँग बाक्लो भेटवार्ता गरेका छन् । प्रचण्डसँगको भेटवार्तापछि नै थापाले सत्ता गठबन्धन टुट्ने दाबी गरेका हुन् ।

उता, सत्ता गठबन्धनको मुख्य घटक एमाले पनि गठबन्धन धेरै नटिक्ने निश्कर्षमा पुगेको छ । एमाले अध्यक्ष ओलीले हिजो पार्टीको भातृ संगठन अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा पनि यो गठबन्धनमा समस्या आएको संकेत गरेका थिए ।

तर, उनले आफ्नो दल सत्ताको लागि लतारिएर नजाने टिप्पणी गरेका छन् । ओलीले आफूनिकटका नेताहरुसँग प्रचण्डले धोका दिन लागेको सुनाउन थालेका छन् । उनले प्रचण्ड अस्थिरताको शिकार बनेको भन्दै यसले मुलुकको हित नहुने पनि बताउने गरेका छन् । आजपनि प्रधानमन्त्री दाहालसँग ओलीले बालुवाटारमा पुगेर भेटवार्ता गरेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्