काठमाडौं, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार मध्यान्ह काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले राजधानीमै त्यस प्रकारको आपराधिक घट्ना घट्दा पनि सुरक्षा निकायले रोक्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सुरक्षा निकायका प्रमुखसँग घट्नाका विषयमा कडा रूपमा पेस भएका थिए ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्यायमा परेका सबैले समुचित न्याय पाउनेगरी कारबाही गर्न निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले गोंगबुमा सोमबार भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताउँदै राजधानीमै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिएर आवश्यक कारबाही अघि बढाउनुपर्ने बताए ।
‘घटनाको पृष्ठभूमि के छ? के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो ? त्यसमा दोषी कोको छन्? त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नूस्, लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नूस् र जोजो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्,’ प्रधानमन्त्री प्रचण्डले भने ।
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वानुमान नगरेको बताए । छलफलमा उनीहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वानुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्रीकै पहलमा भएको छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, गृहसचिव, प्रधानमन्त्री कार्यालयका तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव र सुरक्षा अंगका प्रमुखहरू उपस्थित थिए । राजधानी दैनिकबाट