Logo

राष्ट्रपतिमा कांग्रेसप्रति लचिलो बन्दै माओवादी



काठमाडौं, फागुन ४ । सातदलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रपति पदमा नेपाली कांग्रेसप्रति लचिलो बन्दै गएको छ । आगामी शक्ति सन्तुलनको जोड घटाउ गर्दै माओवादी केन्द्र राष्ट्रपतिको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसप्रति सकारात्मक देखिएको हो ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा माओवादीले कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने तयारी गरेको नेताहरूले संकेत गरेका छन् । वर्तमान सत्ता गठबन्धनको मुख्य दल नेकपा (एमाले) बाट राष्ट्रपति बनाउँदा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने रणनीति लिएको बताइएको छ ।

राष्ट्रपतिमा कसलाई सघाउने भन्ने निर्णयमा पुगिनसकेको जिकिर गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले भने– ‘सत्ता सहयात्री एमाले राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने कुरामा सहमत छैन । माओवादीले भनेको राष्ट्रपतिमा राष्ट्रिय सहमतिका सन्दर्भमा कांग्रेस लचिलो देखिएको छ ।

त्यसो हुँदा कांग्रेसप्रति हामी पनि अलिक लचिलो भएका छौं ।’ सरकारको नेतृत्व गरिरहेको माओवादीका अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई पनि सँगै लिएर जाँदा सरकारले परिणाममुखी काम गर्न सक्ने माओवादी नेताहरूको भनाइ छ । सोही निष्कर्षसहित केही दिनमै स्थायी कमिटीको बैठक बोलाएर राष्ट्रिय सहमतिका पक्षमा निर्णय लिने शर्माको भनाइ छ ।

दुई दिनअघि मात्रै कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० भित्र वर्तमान गठबन्धन भत्कने बताएका थिए भने माओवादीका नेताहरूले राष्ट्रपतिका सन्दर्भमा फागुन १० वरिपरि औपचारिक निर्णय आउन सक्ने बताएका छन् ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot