काठमाडौं, फागुन ४। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा राष्ट्रपति वा उपराष्ट्रपति तथा संवैधानिक निकायका प्रमुखमाथिको महाभियोगको प्रस्तावका विषयमा गरिएको मस्यौदाको व्यवस्थामा अझै सहमति हुन सकेको छैन। तथापि मस्यौदाको विषयवस्तुमाथि सदस्यले बिहीबार समितिको बैठक बस्नुअघि फरक मत राख्न पाउने गरी बैठक स्थगित भएको छ। समितिले बिहीबार नै मस्यौदाको अन्तिम रूप दिने तयारी गरेको छ।
मस्यौदामा राखिएको व्यवस्था संविधानसँग बाँझिएको दाबी गर्दै केही सदस्यले आपत्ति जनाएपछि लगातार दुई दिनसम्म समितिले महाभियोगको प्रस्तावबारे छलफल गरे पनि टुङ्गो लाग्न नसकेको हो।
बुधबार बसेको बैठकमा समितिका अधिकांश सदस्यले संवैधानिक अङ्गका प्रमुखमाथिको महाभियोगको प्रस्ताव निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाले टुङ्गो लगाउन सक्ने मस्यौदाको व्यवस्थामा सहमति जनाए तर नेकपा (एमाले)का सांसद महेश बस्नेतले भने, “प्रतिनिधि सभाको कार्यकाल सकिँदा दर्ता भएको विधेयक स्वतः निष्क्रिय हुने तर महाभियोग प्रस्ताव सक्रिय रहिरहने व्यवस्था संविधानविपरीत हो।”
नियमावलीको मस्यौदामा महाभियोगको प्रस्ताव सभाले टुङ्गो लगाउन नसकेको अवस्थामा उक्त महाभियोग निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाले टुङ्गो लगाउन सक्ने व्यवस्था छ। नेपाली कांग्रेसका सांसद रमेश लेखकले विगतका अभ्यासबाट सिक्नुपर्ने बताउँदै भने, “दर्ता भएका महाभियोग प्रस्ताव संसद्को सम्पत्तिका रूपमा अभिलेखमा राख्ने र निर्वाचित प्रतिनिधि सभाले आवश्यक ठाने एक चौथाइ सदस्यको प्रस्तावमा पछिल्लो प्रतिनिधि सभाको प्रस्तावलाई ब्युँताउन सक्ने व्यवस्था गरेर जाऔँ।”
प्रतिनिधि सभा सदस्य लेखकको उक्त प्रस्तावमा कांग्रेसकै दिलेन्द्रप्रसाद बडू, समितिका सभापति चित्रबहादुर केसी, नेकपा(एमाले)का सुवास नेम्वाङलगायतले सहमति जनाए। मस्यौदामा प्रतिनिधि सभाको कार्यकाल सकिन पाँच महिनाभन्दा कम समय रहेको अवस्थामा दर्ता भएको महाभियोगको प्रस्तावउपर सभाले बाँकी कार्यकालभित्रै टुङ्गो लगाइसक्नुपर्ने व्यवस्था गरिएको छ तर समयावधि एक महिना वा सोभन्दा कम रहेको अवस्थामा प्रक्रिया छोट्याएर टुङ्ग्याउनुपर्ने अधिकांश सदस्यले धारणा राखेका छन् । गोरखापत्र दैनिकबाट