Logo

डा. किरण नकर्मीलाई प्रश्न– कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था कस्तो छ ?



काठमाडौं, ४ फागुन । कीर्तिपुर बर्न अस्पताल, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभागका प्रमुख डा. किरण नकर्मीले नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको शरीरका ३० प्रतिशत भाग गम्भीर जलनमा परेकाले स्वास्थ्य अवस्था जटिल भएको बताएका छन् । हिजो राति साढे १० बजेतिर काठमाडौं, बुद्धनगरस्थित निवासमा एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला कीर्तिपुर बर्न अस्पतालमा उपचाररत छन् ।

‘सांसद भण्डारीको शरीरको ३० प्रतिशत र आमाको ७० प्रतिशत भागमा गम्भीर जलन छ । तातो धुवाँ र ग्यास श्वासनलीमा पसेकाले स्वास्थ्य अवस्था जटिल छ । हामीले बर्न आईसीयूमै राखेर उपचार गरिरहेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. नकर्मीले भने ।
सांसद भण्डारीको हात, खुट्टा र अनुहार गरी सबै ठाउँमा जलन रहेको पनि उनले बताए । डा. नकर्मीले थपे, ‘ड्युटी डाक्टरले भनेअनुसार बन्द कोठामा ग्यास लिक भएर आगो सल्किएको रहेछ । अहिले दुवै जना बोल्न सक्ने अवस्थामै हुनुहुन्छ । तर श्वासनलीमा जलन हुँदा सुन्निएर श्वासप्रश्वासमा समस्या हुन सक्छ । बोलीको टोनमा परिवर्तन हुन सक्छ ।’
आमाछोराको अवस्था अहिले नै के हुन्छ, यसै भन्न नसकिने डा. नकर्मीले औंल्याए । उनले भने, ‘हाम्रा तर्फबाट सम्पूर्ण स्रोत र साधन लगाएर उहाँहरुलाई बचाउने कोसिस हुन्छ ।’ यस्तो उपचारमा सामान्यतः महिना एकडेढ महिना लाग्न सक्ने पनि उनले बताए । जलनको उपचार नेपालमा भन्दा विदेशमा राम्रो भएको पनि उनले स्वीकार गरे । डा. नकर्मीले भने, ‘हामी सांसद भण्डारीको अवस्था मूल्यांकन गर्छौं । सम्भव भयो भने मुम्बईमा रहेको सुविधासम्पन्न अस्पताल पुर्‍याउन सकिन्छ । तर जलनका बिरामीलाई एयर एम्बुलेन्सबाट अक्सिजन लिएर लानुपर्ने हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्