काठमाडौं, ४ फागुन । राजनीति विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वाभाविक तर स्वाभाविक गठबन्धनमा फर्कन खोजिरहेको बताएका छन् ।
‘प्रचण्डले हिजो एकाएक यु-टर्न भएर केपी ओलीसँग सहमति गर्नुभयो, आज राष्ट्रिय सहमति भन्न थाल्नुभएको छ । मलाई त कोर्स करेक्सन भयो भन्ने लागेको थियो । तर प्रचण्ड र ओली फेरि पनि तरबार बेचुवा र घिउ बेचुवा भएर निस्किनुभयो । तथाकथित वाम लोकतान्त्रिक गठबन्धनलाई फेरि राष्ट्रपतिको कडीले जोड्ने सम्भावना बढ्यो । राष्ट्रपतिको निर्वाचनमा आएर प्रचण्डले अस्वाभाविक तर स्वाभाविक गठबन्धनमा फर्कन खोजेको देखिएको छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने । प्रचण्डले ओलीको सहमतिभन्दा पनि राष्ट्रिय सहमति चाहिन्छ भन्न थालेकाले माओवादी र कांग्रेसको गठबन्धनबाटै राष्ट्रपति हुने अवस्था आएको पनि उनले औंल्याए ।
खनालले प्रचण्डले सत्ता लम्ब्याउन कांग्रेससँग गठजोड गरेको बताए । उनले थपे, ‘संसदीय व्यवस्थामा सानो दलको नेता प्रधानमन्त्री हुन योग्य नै हुँदैन । प्रचण्डले विजातीय गठबन्धन बनाएर प्रधानमन्त्री बन्नु अनैतिक हो । एमालेसँग सहमति गरेर कांग्रेससँग फेरि गठजोड गर्नु सत्ता लम्बाउने षडयन्त्र हो । उहाँले पार्टी र मुलुकको हित हेर्नुहुन्थ्यो भने त प्रधानमन्त्री नै हुनुहुने थिएन ।’
प्रचण्डले पार्टीमा एकमनावादी र एकलौटी कायम राखेको आरोप पनि उनले लगाए । खनालले भने, ‘उहाँले माओवादी पार्टीलाई खल्तीको चुइगम बनाउनुभयो भन्ने छ । न आन्तरिक लोकतन्त्र छ, न विरोधी आवाज छ । नेताकार्यकर्ता उहाँको पछि लागेर त्राण पाउन चाहन्छन् ।’