काठमाडौं, ४ फागुन । तनहुँको पुरानो सदरमुकाम बन्दिपुरले विस्तारै विकासको फड्को मार्दैछ। नेवार संस्कृतिमा लिपिएको बन्दिपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ। पर्यटकलाई आकर्षण गर्न सक्ने नेपालका स्थानमध्ये बन्दिपुर पनि एक हो।
कुनै समय स्थानीय जत्तिकै संख्यामा पर्यटक भेटिने बन्दिपुरमा कोरोना महामारीपछि भने पहिलेको तुलनामा पर्यटक नआएका बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउछन्। यतिबेला उल्लेख्यरुपमा विदेशी पर्यटक नआएपनि स्वदेशी पर्यटकले बजार भरिभराउ हुने गरेको छ।
पर्यटनको प्रचुर सम्भावना भएको बन्दिपुरलाई अझै थप पर्यटक भित्राउने योजना बनाएको र उक्त योजना कार्यान्वयन गर्न सकेमा बन्दिपुर बासीको आर्थिक समृद्धि बढ्न सक्ने थापाले विश्वास दिलाए। राजधानीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले बन्दिपुरमा लघुवित्त सम्बन्धि समस्या सुरु भएको बताए। लघुवित्तकै कारण कसैको पनि घरबारमा समस्या र कोही पनि तनावमा नपर्ने तरिकाले गाउँपालिकाले योजना बढाइरहेको उनको भनाइ थियो।
करिब २६ वर्षसम्म शिक्षण पेशामा बिताएका थापाले सामुदायिक विद्यालयकोस्तर बढाउनकै लागि तीन सदस्यीय निरिक्षण समिति गठन गरेको सुनाए। उनले आफ्नो दायित्व पूरा नगर्ने शिक्षकलाई समितिले कारबाहीको सिफारिस गर्ने समेत चेतावनी दिएका छन्। बन्दिपुरे जनताको आर्थिक समृद्धि गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको उनको दाबी छ।
जनप्रतिनिधिहरुलाई काम नगरेको आरोप लागिरहँदा आफू सोही स्थानमा पुग्दा कस्तो हुँदो रहेछ? भन्ने प्रश्नमा उनले भने,‘जति बाहिर बसेर विरोध गरिन्छ, भित्र काम गर्न त त्यत्ति सजिलो त हुँदैन, तैपनि सिलसिलेबार ढंगले बढियो भने काम अगाडि बढ्छ भन्ने मलाइ लाग्छ, त्यो मलाई आत्मविश्वास पनि छ।’
पर्यटन र कृषिलाई जोड्ने, कृषिबाट जनतालाई स्वरोजगार बनाउने खालका सिपमुलक कार्यहरु अगाडि बढीरहेको बन्दिपुरमा विभिन्न समूहहरु गठन भएका छन्। थापाका अनुसार गाउँगाउँमा कृषक, दुग्ध, खाद्यबाली, बाख्रा समूह बनाएर तालिमहरु अगाडि बढाउने र बिउबिजन वितरण कार्य सुरु भइरहेको छ। उनले भने,‘चुनाव अघिकै एजेण्डा कार्यान्वयन गर्न धेरै तालिमका योजना पनि राखेका छौं भने कति त सम्पन्नपनि भइसकेका छन्। समूह पनि गठन भएका छन् उनीहरुलाई तालिम दिएर उत्साहित बनाएर स्वरोजगार बनाउने हाम्रो लक्ष्य छ। सोही योजनाअनुसार बन्दिपुर-१ को नाला, बन्दिपुर-३ को सेराटार र सुखौरामा समूहहरु गठन गरेका छौं।’
हाल बन्दीपुरमा चीनको ग्रेटवालको झल्को दिने मिनी ग्रेटवाल निर्माण हुँदैछ। मिनी ग्रेटवाल स्थानीय ढुंगा प्रयोग गरी बनाइएको थापाले सुनाए। तीन किलोमिटर लामो पर्खालसँगै पदमार्ग छ। बन्दीपुर गाउँपालिका–२ को थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पर्खाल र पदमार्ग मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिनेछ। निर्माणाधिन मिनी ग्रेटवालका लागि करिब १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
पर्याप्त बजेट नभएकाले हाललाई काम रोकिएको थापाले बताए। अहिलेसम्म जति बनेको छ त्यसलाई फिनिसिङ गर्ने र बाँकी काम हुँदै जाने उनको भनाइ छ। ५ वर्षभित्र मिनि ग्रेटवाल तयार हुने अनुमान गरिएको छ।
पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दिपुर अत्यन्त उपयुक्त गन्तव्य स्थान मानिन्छ। बन्दिपुरमा घुम्नको लागि बसोबासको राम्रो व्यवस्था छ। टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ।