काठमाडौँ,४ फागुन । हिन्दू धर्मावलम्बीको महत्वपूर्ण मानिने भजन लोप हुने अवस्थामा छ । विभिन्न पर्वमा गाइने कतिपय भजन लोपोन्मुख अवस्थामा पुगेको छ ।
भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो ।
भजनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । “भजनको संरक्षणका लागि प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको हो”, उनले भने ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार, द्वितीय हुनेलाई रु ३६ हजार, तृतीय हुनेलाई रु २१ हजार र सान्त्वनालाई रु पाँच हजार एक सय तथा प्रमाणपत्र प्रदान गरिने लम्सालले बताए ।
महाशिवरात्रि पर्वका अवसरमा सामूहिक व्रतबन्ध, अखण्ड दीप प्रज्वलन, शिवध्वनि पुजन र विविध धार्मिक अनुष्ठान कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ । साथै सोही दिन वरिष्ठ लोकदोहोरी तथा भजन गायक पुरुषोत्तम न्यौपाने र लोकदोहोरी गायिका शान्ति डोटेलको साङ्गीतिक प्रस्तुति रहनेछ ।
धार्मिकस्थलका रुपमा विकास भएको च्यवनधाम परिसरमा एक सय आठ धारा, एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपीपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थानलगायतका संरचना रहेका छन् । शिवरात्रि, साउने सोमबार, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा यहाँ भक्तजनको आवागमन हुने गर्दछ । यहाँ मुक्तिनाथको शैलीमा मन्दिर निर्माण गरिएको छ । रासस