काठमाडौं, फागुन ५ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । मतदान कार्यक्रम चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
फागुन १९ गते विद्यार्थी संघ÷संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै, फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।
यस्तै, कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।