Logo

पहिलो र दोस्रो राष्ट्रपति मधेसी र महिला भए, अब दलित वा जनजातितिर ध्यान दिए हुन्थ्योः त्रिपाठी



काठमाडौं, ५ फागुन । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले अबको राष्ट्रपतिका लागि दलित र जनजातितिर ध्यान दिन प्रमुख दलहरुलाई सुझाएका छन् ।
‘राष्ट्रपतिमा दलकै नेताभन्दा पनि समाजको एकतालाई एक ठाउँमा ल्याउन सक्ने साझा व्यक्तित्वको खोजी हुनुपर्छ । पहिलो र दोस्रो राष्ट्रपति मधेसी र महिला भइसकेपछि अबको राष्ट्रपतिमा दलित र जनजातितिर ध्यान दिए हुन्थ्यो । त्यसमा पनि गैरदलीय र स्वतन्त्र भए राम्रो हुन्थ्यो । चुनावी प्रक्रियामा जानुभन्दा पनि सहमति गर्नु अझ उपयुक्त हुन्थ्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै त्रिपाठीले भने ।
नेपाली राजनीति सहज अनुमान गर्न सक्ने नभएको पनि उनले औंल्याए । त्रिपाठीले भने, ‘हामी सहज अनुमान हुने राजनीति गर्दैनौं । त्यस्तो अनुमान काम पनि लाग्दैन । प्रधानमन्त्रीले दलभन्दा बाहिर जान खोजेको सकिन्छ ।’ उनले संसदको बनोट हेर्दा स्थिर सरकार दिने स्थिति नभएकाले समीकरण बदलिनु स्वाभाविक भएको पनि बताए ।
फरक प्रसंगमा उनले आफूसँगको भेटमा भारतीय विदेशसचिव विनय मोहन क्वात्राले राजनीतिक कुरा नगरेको पनि स्पष्ट पारे । त्रिपाठीले थपे, ‘कोरोनाको दोस्रो लहरका बेला उहाँ नेपालको राजदूत हुनुहुन्थ्यो, त्यतिबेलादेखि म उहाँलाई चिन्छु । मसँगको भेटमा उहाँले राजनीति तपाईंहरु आफ्नै विषय हो, राष्ट्रपति हाम्रो यो वा त्यो रोजाइ केही छैन भन्नुभएको थियो । अरु नेताहरुसँग के भन्नुभयो, म जान्दिनँ । मसँग भेट्दा विद्युत् निर्यात, हवाई सेवा, आर्थिक सम्बन्धका चुनौतीबारे आफ्ना धारणा राख्नुभएको थियो ।’
तपाईं त पूर्व स्वास्थ्यमन्त्री पनि हो, नेपालमा जलन उपचारको व्यवस्था किन हुन सकेन भन्ने पत्रकार धमलाको प्रश्नमा त्रिपाठीले भने, ‘स्वास्थ्यको क्षेत्रमा अपेक्षाकृत प्रगति भए पनि धेरै कुरा हासिल गर्न बाँकी छ । मानवविकासको क्रममा जाँदाखेरि त्यो गति पक्रन समय लाग्छ । विकास, मित्रता र सुन्दरताको कहिल्यै अन्त्य हुँदैन । अझै पनि धेरै चुनौती छन् । चन्द्र भण्डारीको दुर्घटनाबाट हामीले पाठ सिक्नु पर्छ ।’
साथै उनले अर्थतन्त्रको चिन्ताजनक अवस्थाबारे दलहरुबीच बहस नभएको टिप्पणी गरे । उनले भने, ‘मैले थाहा पाएसम्म एउटा पनि बैठक भएको छैन । नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीलाई नै अर्थतन्त्र ठानेर बसिरहेको छ । अन्य अंग जेसुकै होस्, एउटा अंग बचाउन सकियो भनेर दंग पर्ने अवस्था दोषपूर्ण छ ।’



प्रतिक्रिया दिनुहोस्