काठमाडौं, फागुन ५ । उपत्यकाका अधिकांश ठाउँमा २० वर्ष पहिला कुलो, कुवा र पोखरीमा पानी भरिएको देख्न सकिन्थ्यो । भूमिगत पानीको अत्याधिक दोहनका कारण पानीको स्रोत सुकेका छन् भने पोखरी हिटी सुख्खा देखिन थालेको छ । यो समस्या अब आउने दिनमा अझै विकराल बन्ने विज्ञले बताएका छन् ।
पानी व्यापारका नाममा उद्योगले भूमिगत पानीको अत्यधिक दोहन गर्दा उपत्यकाको अधिकांश ठाउँमा कलकल बग्ने कुलो, पोखरी, हिटीमार्फत पानीको वैज्ञानिक प्रणालीमा पुर्खाले गरेको विकास अहिले नासिँदै जान थालेका छन् ।
‘अहिले तिनै पोखरीमा जाने हो भने पानी भण्डार देखिँदैन, सुख्खा देखिन्छन्, काठमाडौं महानगरपालिका ५ का विष्णुमान मानन्धरले भने, ‘हाम्रो बाजेदेखि हाम्रो पुर्खासम्मले देखेको पोखरी अहिले एकाएक सुकेको छ ।’
उनको अनुभवमा पछिल्लो १० वर्षमा त भूमिगत पानी पनि मुस्किलले आउन थालेको छ । जमिनमुनि पहिलो तहमा पानी सकिएर ‘स्यालो ट्यूबवेल’ काम नलाग्ने भएपछि अहिले व्यावसायिक रूपमा पानी बेच्नेले डिप बोरिङमार्फत दोहन तीव्र भएको छ । यो अवस्था भोलिका दिनमा अझै बढ्ने देखिन्छ ।
सरकारले नियमन नगर्ने र खानेपानीको निर्देशिकाअनुसार चल्दा भोलिको दिन अझै भयावह हुने अवस्था छ ।आजको राजधानी दैनिकबाट