काठमाडौं, फागुन ५ । हिन्दुधर्मालम्बीहरुले धुमधामका साथ महाशिवरात्रि पर्व मनाउँने गर्छन् । यो वर्ष भोलि अर्थात फागुन ६ गते शनिबार परेको छ । महाशिवरात्रिमा भगवान शिवको उपसना गरी पूुजा गरिन्छ ।
महाशिवरात्रिमा कर्मकाण्ड गरिने भएपनि यसमा विज्ञान बुझ्नुपर्ने अहिलेको आवश्यकता रहेको प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. जगमान गुरुङ बताउन्छन् । अहिलको युवापुस्ताले प्रत्येक विषयको विज्ञान खोज्ने उनको भनाइ छ । राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले बुढापुस्ताले विज्ञानको व्याख्या गर्न नसक्ने धारणा राखे ।
शिवरात्री र महाशिवरात्री फरक रहेको उल्लेख गर्दै डा. गुरुङले प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशीको मध्यरातमा शिवरात्री र महाशिवरात्री वर्षमा एकपटक माघ महिनाको कृष्णपक्षको चतुर्दशीको मध्यरातमा मनाइने जानकारी दिए ।
तर, अहिले प्रत्येक वर्षको एकपटक फागुन महिनामा कृष्णपक्षको चतुर्दशीको मध्यरातमा महाशिवरात्री मनाउन थालिएको संस्कृतिविद गुरुङ बताउन्छन् । यसअघि औंसी गएर महिना टुंगिने गणना पद्धती भएको बेलामा माघ कृष्ण पक्षको चुतुर्दशीको मध्यरातमा महाशिवरात्री मनाइने गरिएको उनले बताए ।
उनको अनुसार अहिले पुर्णिमामा गएर महिना टुंगिने गणना पद्धती प्रचलित भएअनुसार वर्षमा एकपटक फाल्गुण कृष्णपक्षको चतुदर्शीको मध्यरातमा महाशिवरात्री मनाइन्छ ।
“अरु महिनाको शिवरात्रि र फागुन महिनाकोलाई महाशिवरात्रि भनिन्छ । शिवरात्री साझ परेपछि रात छिप्पिदै मध्यरातमा जाने र मध्यरातपछि पनि ढल्कदै जाने अवस्थालाई तुर्य अवस्था भनिन्छ । त्यतिबेला मनलाई कल्याणकारी तत्वतीर लगाउने समय भएकोले मध्यरातमा शिवरात्री मनाउने गरिन्छ ।” उनले भने ।
भगवान शिवलाई चढाउने बेलपत्रको धेरै महत्व छ । शिवको प्रिय वस्तुमध्ये बेलपत्र पनि एक हो । बेलले महिलाहरुको कमजोर शरिर कसिलो बनाउन, रक्तचाप नियन्त्रण गर्न र ज्वरो निको गराउने पनि धार्मिक विश्वास रहिआएको छ ।
भगवान शिवलाई तीन पत्रे बेलपत्र चढाउँदा मानिसहरुको दुःख नास हुन्छ भनिन्छ ।
“यो संसारमा तीन प्रकारका दुःख (ताप) छन् । अध्यात्मिक ताप, आधिदेव ताप र आधिभौतिक ताप । पहिलो अध्यात्मिक ताप आफ्नै कारणले हुने गर्छ । जाड, रक्सी खाए रोग लाग्छ, दोस्रो आधिदैविक तापमा प्रकृति प्रकोपबाट दुख पाइने र तेस्रो आधिभौतिक तापमा प्राणीबाट आफुले पाएको दुख हो ।
यसमा लामखुट्टेको टोकाइबाट रोग लाग्ने जस्ता समस्या पर्छन् ।” उनले भने,“यी सबै समस्या कम होस् भनेर बेलपत्र चढाइन्छ । भगवान शिवले यो जगतलाई पिरोल्ने यी तीन तत्वलाई त्रिशुलको रुपमा धारण गर्नुभएको छ । उहाँले जगतलाई सुख दिन सबै समस्या आफैले बोक्नुभएको छ ।”
औंसीको दिनमा चन्द्रमाको सोह्रकलामध्ये एक कला पनि नहुने भएकोले मानिसको मनमा दुषित विचारहरु उत्पन्न हुनसक्छ, त्यसकारण औंसीभन्दा अघिल्लो दिनको मध्यरातमा शिव अर्थात कल्याणकारी भावनाको लागि महाशिवरात्री पर्व मनाइएको हो । कुनै उपद्रो नहोस भनेर शिवको त्यसदिन उपसना गरिने पूर्वउपकुलपति डा. गुरुङको भनाइ छ ।
उनले महिलालाई प्रकृतिको संज्ञा दिँदै भने,“विश्व भनेको भौतिक जगत हो । पशुपतिनाथ सम्पुर्ण जीवको प्राणेश्वर हुन् । महाशिवरात्री पशुपतिनाथको पर्व हो । र, पशुपतिनाथको पर्व भनेको नेपालको पर्व हो ।”
यस अघि करातकालमा किराँती परम्पराअनुसार नै भगवान श्री पशुपतिनाथको पूजा गरेको बुझिन्छ । त्यसपछि प्रथम लिच्छिवी राजा सुपुष्प देवको पालादेखि वैदिक विधिअनुसार श्री पशुपतिनाथको पूजा अर्चना गर्न थालिएको हो ।