Logo

गठबन्धन पाँचै वर्ष कायम हुने गरी लचिलो हुनुपर्छः एमाले उपाध्यक्ष



काठमाडौं, ५ फागुन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पुस १० को सहमति अनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति हुुने सम्भावना ‘च्याप्टर क्लोज’ नभएको दाबी गरेका छन् ।
‘नयाँ सरकार बन्दाखेरि एमालेका उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने सहमति भएको दुनियाँलाई थाहा छ । प्रचण्डजीलाई थाहा नहुने कुरै भएन । जुन सहमतिका आधारमा उहाँ प्रधानमन्त्री बन्नुभयो, त्यसलाई उहाँले नै भत्काउनु होला जस्तो मलाई लाग्दैन । एमालेले जसलाई प्रस्ताव गर्छ, उसलाई जिताउन सहमति बन्ने सम्भावना छ । अझै पनि च्याप्टर क्लोज भएको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको सदीच्छा राख्नु अनुचित नभए पनि एमालेको सहमति बिना त्यो कसरी सम्भव हुन्छ भन्ने प्रश्न उनले गरे । ज्ञवालीले भने, ‘कि त्यतिबेलै सहमति गर्नुहुँदैनथ्यो, त्यतिबेला सहमति गर्दा किन विचार नगरेको ? पहिले जे सहमति भएको छ, त्यसमा अडिएर पाँचै वर्ष गठबन्धन कायम हुने उपाय के हुन्छ, त्यसको खोजी गर्नुपर्छ । प्रचण्ड पहिलेको सहमतिमा इमानदारीका साथ उभिनुपर्छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड बसेर एमालेका तर्फबाट कुन उम्मेदवार प्रस्तुत गर्दा अलि लचिलो हुन्छ, त्यसबारे सोच्नुपर्ने पनि उनले औंल्याए । ज्ञवालीले भने, ‘अहिले गठबन्धन टुटाएर मुलुकलाई अस्थिरतातिर लैजाने बाटोमा लाग्नु हुँदैन । त्यसले संवैधानिक र राजनीतिक संकट निम्त्याउन सक्छ । धेरै ठूलो प्रयासपछि जुन गठबन्धन बनेको छ, त्यो पाँच वर्ष कायम हुने गरी अघि जानुपर्छ ।’
एमालेले कांग्रेसबाहेकका महन्थ ठाकुर, झलनाथ खनाल, बाबुराम भट्टराईलाई समर्थन गर्न सक्छ कि सक्दैन भन्ने अर्को प्रश्नमा ज्ञवालीले थपे, ‘अहिले विभिन्न व्यक्तिहरूको चर्चा उठिरहेको छ । एमालेभित्रबाट पनि विभिन्न नाम आइरहेको छ । अहिले नै यो वा त्यो भन्नु उपयुक्त हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्