Logo

गठबन्धन सुदूरपश्चिमबाटै हल्लिसकेको छ, केन्द्रमा अतिरिक्त मिहिनेत चाहिँदैनः पौडेल



काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेल राष्ट्रपतिमा नेकपा एमालेको दाबी स्वाभाविक नभएको बताएका छन् ।
‘राष्ट्रपति कसलाई दिनुपर्छ भन्दा पनि विगतमा हामीले कसरी अभ्यास गर्‍यौं भन्ने पक्ष महत्त्वपूर्ण छ । वर्तमान राष्ट्रपति संविधानको संरक्षक र राज्यको अभिभावक भएको देखिएन । कहिले कार्यकारी प्रमुखको स्बर स्टाम्प बन्ने, कहिले कार्यकारी प्रमुखको विपरीतमा जाने खालको शक्ति संघर्ष पनि देखियो । अब त्यस्तो दुरुपयोगको अन्त्य गर्नुपर्छ । एमालेले राष्ट्रपतिलाई जसरी बुझेको छ, त्यसरी बुझ्नु हुँदैन । तसर्थ एमालेको दाबी स्वाभाविक हुनै सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
कांग्रेस नेता पौडेलले कांग्रेसले संवैधानिक मर्यादा बुझेको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउने पनि बताए । उनले भने, ‘राष्ट्रपति संवैधानिक प्रक्रिया र प्रतिस्पर्धाबाट आउने हो । त्यसैले दाबीलाई परिणाममा पुर्‍याउने विषय प्रमुख हुन्छ । हामी संविधान निर्मातासमेत रहेका नेताहरुलाई नै उम्मेदवारका रुपमा प्रस्तुत गरेर जान्छौं । तर नाम टुंग्याउन बाँकी छ ।’

साथै उनले रामचन्द्र पौडेल, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ लगायतका पार्टीका शीर्ष नेताहरुमध्येबाटै उम्मेदवार बन्ने संकेत गरे । आफ्नो दलबाहेक अरु उम्मेदवारबारे पार्टीमा छलफल नभएको पनि उनले स्पष्ट पारे ।
राष्ट्रपति निर्वाचनका लागि अर्को गठबन्धन गर्ने कोसिस गर्ने पनि कांग्रेस नेता पौडेलले बताए । उनले थपे, ‘राष्ट्रिय सहमतिका लागि सबै दलको सहमति हुनुपर्छ । तत्काल त्यो सम्भव छैन । आफूसँग पर्याप्त मत नभएकाले हामी अन्य दललाई विश्वासमा लिएर समन्वयकारी भूमिका निर्वाह गर्न तयार छौं ।’
वर्तमान गठबन्धनमा समस्या भएकाले बालकोट र बालुवाटार दौडधुप चलिरहेको आरोप पनि उनले लगाए । पौडेलले भने, ‘संविधानले नचिनेको संयन्त्र बनेको छ । त्यसको बैठकमा सात दलमध्ये आधा पनि उपस्थित हुँदैनन् । गठबन्धन सुदूरपश्चिमबाट हल्लिएको छ । त्यो कांग्रेसले ढोक्सा थापेर ढलेको होइन । उहाँहरुबीचको समझदारी भत्किएर र सँगै बस्न नसकेर हो । गठबन्धन भत्काउने कांग्रेसले केही गर्नै पर्दैन ।’
प्रचण्ड नेतृत्वको सरकारले बहुमत सुरक्षित नभए संसद्ले नयाँ निकास दिने पनि पौडेलको कथन छ । उनले भने, ‘हामी सरकारमा जाँदै जाँदैनौ पनि भन्दैनौं । कुनै पनि हालतमा जानुपर्छ भनेका पनि छैनौं । गठबन्धन भत्किएको स्थितिमा कांग्रेससँग नजोडीकन नयाँ सरकार सम्भव छैन । तर सरकार ढलोस् भन्ने हाम्रो कुनै मनसाय छैन ।’



प्रतिक्रिया दिनुहोस्