काठमाडौं, ५ फागुन । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ओलीलाई भेटेर निस्किएलगत्तै चिनियाँ राजदूत बालकोट पुगेका हुन् ।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताहरुको सक्रियता बढेको छ । यसै सन्दर्भमा चिनियाँ राजदूत सोङले ओलीसँग भेटवार्ता गरेका हुन् । सो भेट नियमित भएको ओलीको सचिवालयले जनाएको छ । एमालेसहितको ७ दलीय गठबन्धनको सरकार बन्दा चीन खुशी रहेको चर्चा छ ।
तर, राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा संकट पैदा भएको चर्चा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको सहकार्य तोडेर कांग्रेस नेतृत्वमा अर्को गठबन्धन बनाउने गृहकार्यमा जुटेको स्रोतको दाबी छ । कांग्रेस शीर्ष नेताहरुले पनि फागुन १० गतेभित्र अहिलेको गठबन्धन भत्किने दाबी गरेका छन् ।
आज ओलीसँग प्रचण्डले बालकोटमा दुई घण्टा भेटवार्ता गरेका छन् । सो भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको थियो । ओलीले पुष १० गते भएको सहमति पालना गर्न प्रचण्डलाई आग्रह गरेका थिए । प्रचण्डले पनि सो बैठकबाट बाहिरिने क्रममा आफूहरुबीच कुनै असमझदारी नभएको भन्दै सहमतिमै राष्ट्रपतिको उम्मेद्वार टुँगो लगाउने प्रतिक्रिया दिएका छन् ।