Logo

सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी



काठमाडौं, फागुन ६। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध उजुरी परेको छ । विभागमा आएका उजुरीका आधारमा छानबिन तीव्रता दिएर कसुर प्रमाणित भएकालाई धमाधम मुद्दा दायर गर्ने क्रम थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए ।

विभागले विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गर्नेविरुद्ध आक्रामक कारबाही थालेसँगै मुद्दा दायर गर्ने क्रम पनि बढेको छ । चालू आर्थिक वर्ष २०७९÷८० को सात महिनाको अवधिमा (साउनदेखि माघसम्म) विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा आठवटा मुद्दा दायर गरेको छ । आठवटा मुद्दाका १८ जना आरोपीसँग ५ अर्ब बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको महानिर्देशक अधिकारीले जानकारी दिए ।

विभागमा राजस्व छली गरेर तथा अन्य अपराधिक क्रियाकलाप गरेर सम्पत्ति आर्जन गर्ने र त्यसरी आर्जन गरिएको सम्पत्ति शुद्धीकरण गरेको भन्दै त्यससम्बन्धी कसुरमा उजुरी पर्ने क्रम बढेको छ । लागूऔषध, ठगी तथा संगठित अपराध, तस्करी, विदेशी विनियम अपचलन, हुन्डी अपराधलगायतबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गर्नेविरुद्ध उजुरी पर्ने क्रम बढेको विभागले जनाएको छ । त्यस्तो कसुर गर्नेको संख्या अत्यधिक रहेको बताइन्छ ।

विभागले पछिल्लोपटक राजस्व छली र हुन्डी कसुरमा मुद्दा दायर गरेको थियो । जसअनुसार सन्दीप कौशल र देवीप्रसाद कौशलविरुद्ध राजस्व छलीमा ४५ लाख ७९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । यसैगरी तिलकराम गिरिविरुद्ध ३९ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।

यसैगरी गत सात महिनाको अवधिमा विभागले ठगी कसुरमा श्याम परदेशी भन्ने श्यामकृष्ण शाहविरुद्ध ३ करोड २० लाख ९२ हजार ६ सय ५८ बिगो दाबीसहित मुद्दा दायर गरेको छ । यसैगरी ठगी कसुरमै मञ्जुदेवीविरुद्ध ६५ लाख ६५ हजार, लागूऔषध कसुरमा कल्पना घरानविरुद्ध १० लाख ३५ हजार, सानुकान्छा योञ्जनविरुद्ध १० लाख ३५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजधानी दैनिकबाट

यसैगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार ठगी तथा संगठित अपराध कसुरमा इच्छाराम तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै, सोही कसुरमा सिर्जना शाक्यविरुद्ध १ अर्ब ७ करोड, प्रतीक्षा तामाङविरुद्ध ६ करोड २२ लाख, प्रतिष्ठा तामाङविरुद्ध १ करोड ८९ लाख र केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । यसैगरी तस्करी मुद्रा तथा बैकिंङ कसुरमा शिवनाथ यादवविरुद्ध ३१ लख ८९ हजार, सुभाषकुमार श्रेष्ठविरुद्ध ३१ लाख ८९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार विदेशी विनिमय अपचलनलगायतका कसुरमा सुरेन्द्रबहादुर सिंह, शारदादेवी सिंह र जयन्ती थापाविरुद्ध २७ करोड ६७ लाख, ७८ हजार ६ सय ५६ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो । यसैगरी हुन्डी र राजस्व छली कसुरमा चित्रबहादुर पुन र ममता थापाविरुद्ध ८० लाख तथा सन्दीप कौशल, देवी प्रसाद कौशल विरुद्ध ४५ लाख र तिलकराम गिरिविरुद्ध ३९ लाख बिगो कायम गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया



प्रतिक्रिया दिनुहोस्

Screenshot