Logo

आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना



काठमाडौं, फागुन ६। नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ ।

नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद्, आगलागी, विमान दुर्घटना तथा हवाई उद्धारजस्ता घटनामा पनि आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आएको छ ।

नेपालको संविधानको भाग २८ को धारा २६७ को उपधारा (४) ले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध संगठन मानेको छ । त्यस्तै, संविधानले नै सेनालाई सरकारले संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापनलगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्ने अधिकार दिएको छ । संविधानले नै दिएको अधिकारलाई सदुपयोग गर्दै सेनाले विकास निर्माण र विपद्मा आफूलाई देश र जनताप्रति जिम्मेवार देखाउँदै आइरहेको छ ।

सेनासँग हाल १३ हजार ८ सय २० जना विपद्मा परिचालन गर्न सकिने तालिमप्राप्त विशेष दक्ष जनशक्ति छन् । त्यसबाहेक सेनाको सिंगो संरचना नै भइपरी आउने जुनसुकै अवस्थाका लागि तयार रहँदै आइरहेको छ । २०७२ सालको महाभूकम्पबाट हजारौं नेपाली नागरिक घरबारविहीन हुँदा होस् या कोरोना महामारीका समयमा हजारौंले ज्यान गुमाउँदा सेनाले सिंगो संगठनलाई नै दाउमा राखेर जनताप्रति समर्पित गराइदिएको छ ।

यस्तै, कोरोना महामारीका समयमा विदेशबाट आएका नेपाली नागरिकलाई उचित व्यवस्थापन गर्ने ९होल्डिङ सेन्टर बनाउने र राख्ने० काममा पनि सेनाको भूमिका देखिएको थियो । कोरोना कालमा सेनाले देश र जनताप्रति देखाएको जिम्मेवारीलाई देशले नै सराहना गर्ने गरेको छ । कोरोना महामारीबाट निधन भएका व्यक्तिको शव आफ्ना आफन्तले समेत छुन नपाउने विकराल अवस्थामा सेनाले देखाएको तत्परता ‘स्यालुट’योग्य छ ।

नेपाल प्राकृतिक तथा मानव सिर्जित विपद्को उच्च जोखिममा समेत छ । नेपालमा बर्सेनि सयौं सर्वसाधारणले विपद्का कारण अकालमा ज्यान गुमाउने गरेका छन् भने भौतिक संरचनामा पनि करोडौं मूल्यबराबरका राज्यको सम्पत्ति नोक्सान हुने गरेको छ ।

सेना सधैं देश र जनताप्रति जिम्मेवार छ, नेपाली सेनासँग हाल विपद्मा परिचालन गर्न सकिने विशेष तालिमप्राप्त दक्ष जनशक्ति १३ हजार ८ सय २० छ, त्यसबाहेक पनि सेनाको सिंगो संरचना नै भइपरी आउने जुनसुकै अवस्थाका लागि तयार रहन्छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्