Logo

पशुपतिमा भक्तजनको घुइँचो, एक किलोमिटर टाढासम्म लाइन (फोटो फिचर)



काठमाडौं, फागुुन ६ । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए । पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ ।

दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेकोे छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत मुुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ । आराध्यदेव भगवान् पशुपति नाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ । यस पटक पनि ठूलो सङ्ख्यामा योगी, साधु, सन्त, महन्थसहित बाबाको आवागमन भएको छ ।

फोटोःमुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्