Logo

सेना नेपाली माटो र मुटुलाई जोड्ने अभियानमा छः प्रवक्ता



काठमाडौं, ६ फागुन । आज नेपाली सेनाले आफ्नो स्थापनाको २६० औं वार्षिकोत्सव भव्य र उल्लासपूर्वक मनाउँदै छ । महाशिवरात्रि तथा राष्ट्रिय सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरिँदै छन् ।
नेपाल राष्ट्र एकीकरणका बेला ५ वटा कम्पनी स्थापना भएर संगठित रुप लिएको नेपाली सेनाले आजको विशेष समारोहमा सेनाकी परमाधिपति राष्ट्रपतिको प्रमुख आथित्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय स्थल सेनाध्यक्षहरुलाई निम्ताएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले आज सैनिक मञ्च टुँडिखेलमा विभिन्न सैनिक कला प्रदर्शन हुने बताए । सैनिक दिवसको कार्यक्रम सर्वसाधारणलाई हेर्न सहज होस् भनेर कालीमाटी, गौशाला, त्रिपुरेश्वर र दरबारमार्गमा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको पनि उनले जानकारी दिए ।
नेपाली सेना जनताको सेना भएकाले जनताको सुखदुःखमा सँगै रहेको उनले बताए । भण्डारीले भने, ‘मुलुकको विकास, स्थिरता र शान्तिका प्रयासहरुमा नेपाली सेनाको रुचि छ । तर राजनीति सेनाको रुचिको विषयवस्तु होइन । हुनु पनि हुँदैन । सैन्य शक्तिले राजनीतिक नेतृत्वलाई शासन सञ्चालनमा सघाउने मात्र हो । देश र जनताप्रतिको वफादारिता नै नेपाली सेनाको गैरराजनीतिक चरित्र हो ।’
प्रवक्ता भण्डारीले नेपाली सेनाले नेपाली माटो र नेपाली मुटुलाई जोड्ने अभियान सञ्चालन गरिरहेको पनि बताए । उनले थपे, ‘हामीले विकट ठाउँमा चारवटा सडकको ट्रयाक खोल्ने काम गरिरहेका छौं । तराई–काठमाडौं द्रुतमार्ग सबैको सहयोगमा समयमै सम्पन्न गर्न कटिबद्ध छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot