Logo

कांग्रेस माओवादीलाई फकाएर राष्ट्रपति लिने अनि प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउने मिसनमा छः एमाले नेता



काठमाडौं, ६ फागुन । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री पद गुमाएपछि नेपाली कांग्रेसका नेताहरु अझै होसमा आउन नसकेको आरोप लगाएका छन् ।
‘पुस १० को सहमति र परिस्थिति अहिले पनि कायमै छ । त्यसअनुसार नै प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन भइसकेका छन् । अब राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले पाउने सहमति कार्यान्वयन बाँकी छ । तर कांग्रेस नेताहरु अनेक प्रचारबाजी गरेर ज्योतिष पनि बन्नुभएको छ । भविष्यवाणी गर्न थाल्नुभएको छ । भुइँको टिप्न खोज्दा पकेटको पनि झरेपछि अझै होसमा आउनुभएको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
एमाले नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पार्टीले बालुवाटारबाट घिसारेर बालकोट लगेर ल्याप्चे नलगाएको बताए । उनले भने, ‘कांग्रेस माओवादीलाई फकाएर राष्ट्रपति लिने अनि प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउने मिसनमा छ । घुमिफिरी संविधानको धारा ७६(३) अनुसार आफैं प्रधानमन्त्री लिने योजनामा छ । कांग्रेसलाई विश्वासको मत नदिए मध्यावधि निर्वाचन हुने भएकाले माओवादीले नाकको चालमा आफूलाई भोट हाल्छ भन्ने उसको बुझाइ छ । यो कुरा नबुझीकन प्रचण्डले यति छिट्टै अपरिपक्व निर्णय लिनुहुन्छ भन्ने मलाई लाग्दैन ।’ पुस १० को सहमति पालना नभए के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा रिजालले भने,’ धोकाधडीको राजनीति त्यति परसम्म जान्छ भन्ने लाग्दैन । तर भयो भने दुर्भाग्यपूर्ण परिस्थिति हुन्छ ।’
एमालेलाई बाबुराम भट्टराईलाई राष्ट्रपतिमा साथ दिन नसक्ने पनि उनले दाबी गरे । उनले भने, ‘निर्णय नहुन्जेल विभिन्न नाम आउनु स्वाभाविक हो । तर एमालेले बाबुरामलाई साथ दिने भन्ने प्रश्नै छैन । हामी व्यक्तिमा प्रवेश गरेकै छैनौं । हामी एमालेका तर्फबाट अघि सारिने उम्मेदवारलाई सर्वस्वीकार्य बनाउन लाग्छौं ।’ अहिले कांग्रेससँग सहकार्य गर्नुपर्ने कुनै अवस्था नरहेको पनि रिजालले बताए । उनले भने, ‘अहिले हामीले कांग्रेसबारे किन चिन्ता गर्ने ? उपभोक्ता समितिमा त प्रतिस्पर्धा हुन्छ भने राष्ट्रपतिमा कहाँबाट आयो भने राष्ट्रिय सहमतिको कुरा ? तर हामी कांग्रेस र माओवादीले पार्टी एकता नै गरे पनि मुद्दा नालिस हाल्दैनौं ।’



प्रतिक्रिया दिनुहोस्