Logo

रमेश लेखकलाई धमलाको प्रश्न– कांग्रेसले राष्ट्रपतिका निम्ति माओवादीसँग सहमति गरिसकेको हो ?



काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति निवार्चनका सन्दर्भमा विभिन्न राजनीतिक दलहरुसँग छलफल चलिरहेको बताएका छन् ।
‘त्यस्तो ठोस, संस्थागत र आधिकारिक निर्णय भइसकेको हो जस्तो लाग्दैन । विभिन्न राजनीतिक दलहरुसँग छलफल चलिरहेको छ । हामी राष्ट्रपतिमा उम्मेदवार उठाउँछौं, नेकपा (माओवादी केन्द्र) लगायत सबै दलहरुसँग भोट माग्छौं । फागुन १३ गते मनोनयनपछि त्यसले एउटा गति लेला नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लेखकले भने । साथै उनल पार्टीकै नेतालाई उम्मेदवार बनाउने पनि स्पष्ट पारे ।
कांग्रेसले प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिएर राष्ट्रपति लिने सहमति नभएको पनि लेखकले स्पष्ट पारे । उनले भने, ‘मलाई नै थाहा नभएको अनुमानको कुरामा कसरी टिप्पणी गर्ने ? सबैभन्दा ज्यादा मतभार र संसदमा सबभन्दा ठूलो संख्या भएको पार्टी कांग्रेस हो । त्यसैले हाम्रो उम्मेदवारीप्रति शंका उपशंका गर्नु आवश्यक छैन । माओवादी निर्णायक शक्ति हो, त्यसमा दुबिधा छैन । उसको सहयोग नपाए हामी मात्र होइन, एमालेको पनि राष्ट्रपति बन्दैन ।’
कांग्रेस कुनै पनि सहमतिभन्दा दायाँबायाँ नजाने पनि उनले बताए । लेखकले थपे, ‘एमालेले ब्ल्यांक चेकमा हस्ताक्षर गरेर प्रचण्डलाई प्रधानमन्त्री दिएको हो र ? हामीले कसैलाई धोका दिएका छैनौं र दिँदैनौं । विगतका कमी कमजोरीबारे अहिले बहस गर्नु आवश्यक छैन ।’ आन्तरिक पार्टी सञ्चालनका विषयमा मतमतान्तर भए कांग्रेसमा मूल राजनीतिक एजेन्डामा मतमतान्तर नभएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot