काठमाडौं, फागुन ७ । भक्तपुर लोकन्थलीका श्याम दाहाल महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न शनिबार बिहान १ बजे पशुपति क्षेत्र पुगेका थिए तर, उनले दिउँसो १२ बजेसम्म पनि पशुपतिको दर्शन गर्न पाएनन्।
दाहाल मात्र होइन काठमाडौं शान्तिनगरकी कमला दाहाल शनिबार बिहान ३ बजे पशुपतिको दर्शन गर्न पशुपति क्षेत्र पुगेकी थिइन्। उनले शनिबार दिउँसो २ बजेसम्म पनि पशुपतिनाथको दर्शन गर्न लाइनमा बसिरहेकी थिइन्। सर्वसाधारणलाई पशुपतिको दर्शन गर्न अत्याधिक सास्ती रहेको दर्शनार्थीहरूको गुनासो रहेको छ।
भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेपनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्। खाली पेट र खाली खुट्टा झण्डै १२ घण्टा लाइन बस्दा पनि पालो नआउँदा उनी दिक्क मान्दै थिइन्। बिहानको चिसोले नांगो खुट्टा हिउँ जस्तो भएको थियो भने दिनभरिको घामले पैताला भतभती पोलेको पटेलको गुनासो थियो।
सरकारले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि सर्वसाधारणका लागि सहज हुने गरी व्यवस्था गरेको दाबी गरेपनि सर्वसाधारणले भने घण्टौँ लाइन बस्दा पनि दर्शनको अवसर पाइरहेका थिएनन्। झण्डै १२ घण्टादेखि दर्शन गर्ने लाइनमा बसिरहेकी शान्तिनगरकी दाहाल आफूहरू लाइनमा बसिरहेको अवस्थामा पहुँच हुनेहरू सहजै दर्शन गरेर फर्किरहेको बताउँदै थिइन्। ‘पहुँच हुनेले एकै छिनमा दर्शन गरेर फर्किरहेका छन्। हामी रातिदेखि दर्शन गर्ने लाइनमा बसेकाहरूको पालो नै आएको छैनन्,’ उनले गुनासो गरिन्।
दाहालको तर्कसँग पशुपतिनाथ क्षेत्रमा स्वयंसेवकका रूपमा खटिएका श्री हिन्दु प्रतिष्ठान नेपालका सचिव प्रेम सिंह कुँवर पनि सहमत देखिन्छन्। उनले पहुँचवालाका आफन्तलाई दर्शन गराउँदा सर्वसाधारणले दर्शन गराउन समय लागेको उनी बताउँछन्। नागरिक दैनिकबाट