Logo

एमालेले राष्ट्रपति पाउने सहमति हाम्रो पार्टीलाई थाहा छैनः माओवादी सचिव



काठमाडौं, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री दिनानाथ शर्माले नेकपा एमालेलाई राष्ट्रपति दिने सहमति आफ्नो पार्टीलाई थाहा नभएको बताएका छन् ।
‘त्यस्तो सहमति गरेको भए पार्टीलाई थाहा हुनु पर्दैन ? म पार्टीको सचिव हुँ, सचिवालयलाई नै थाहा छैन । उहाँहरु दुईजना (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) ले के गर्नुभयो ? पार्टीले कुनै निर्णय गरेको छैन । मलाई लाग्छ, त्यस्तो कुनै सहमति भएको छैन । ओलीजीले पहिलेका लिखित सहमति त तोड्नुभयो । उपसभामुख माओवादीलाई दिने भन्ने थियो, अन्टसन्ट गरेर तोड्नुभयो ओलीजीले, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
उनले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेस वा नेकपा एमालेभन्दा पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताए । उनले भने, माओवादी केन्द्र कांग्रेस वा एमालेतिर होइन, राष्ट्रिय सहमति बनाउनेतिर लागेको छ । आपसमा कति लड्ने ? विकास र समृद्धिका लागि सबैलाई मिलाउने लागेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा संसद्मा एकखाले सहमतिको वातावरण बनेको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दियो । अब राष्ट्रपतिमा तिम्रो मत चाहिँदैन किन भन्ने ?’
अब कांग्रेससहितको सहमतिमा राष्ट्रपति बनाउनु पर्ने उनले बताए । शर्माले थपे, ‘सक्षम पात्र एमालेले दिए पनि हुन्छ, कांग्रेसले पनि दिए हुन्छ । कांग्रेस हुँदैन भने रोहित, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, महन्थ ठाकुर जसलाई बनाए पनि हुन्छ । सहमति गरौं न सबै मिलेर । मेरोबाहेक अरु हुँदै हुँदैन भन्ने कुरा आउँदैन । अब निषेधको राजनीति गर्नुहुँदैन ।’
राष्ट्रपति कांग्रेस वा मधेसवादी दललाई दिए पनि एमालेसँगको गठबन्धन कायमै रहनुपर्ने शर्माले औंल्याए । उनले भने, ‘एमाले हाम्रो मित्रशक्ति हो । वामपन्थी शक्ति हो । पहिले पार्टी एकता गरेको पनि हो । तर एकता जोगाउन सकिएन । अहिले पनि म एकताकै पक्षधर हुँ । राष्ट्रपति जो भए पनि एमालेसँगको गठबन्धन कायम हुन्छ । यथावत् नै रहन्छ ।’



प्रतिक्रिया दिनुहोस्