Logo

राससले सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न हरसम्भाव प्रयास गरिरहेको छ : महाप्रबन्धक राई



काठमाडौँ,७ फागुन ।राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले आजको डिजिटल युगमा राससलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न हरसम्भाव प्रयास गरिरहेको बताएका छन्।

राससको ६२औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले राससले आफ्नो सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन आन्तरिक सुशासन, आर्थिक मितव्ययिता, भौतिक सम्पत्तिको संरक्षण र उपयोग, क्षमता विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलगायतका विषयमा निरन्तर काम गरिरहेको उल्लेख गरेका छन् ।

नागरिकलाई सूचनाको हक सुनिश्चित गराउन, सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न र आधिकारिक सूचना सम्प्रेषण गर्न राससले आफूलाई अग्रमोर्चामा उभ्याउन सफल भएको सन्देशमा भनिएको छ ।

“यस अवसरमा राससका सम्पूर्ण सेवाग्राही, समाचार सङ्कलन तथा सम्पादनमा खटिने पत्रकार, प्रशासनमा कार्यरत कर्मचारी र शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद र शुभकामना दिन्छु, राससले यो अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका निभाउने पूर्वअध्यक्ष, पूर्वमहाप्रबन्धक, पत्रकार र कर्मचारीलाई यो वार्षिकोत्सवका अवसरमा आभार प्रकट गर्दछु”, सन्देशमा उल्लेख छ ।

रासस स्थापना भएको ६२ वर्ष पुगेको छ । राष्ट्रिय समाचार समिति २०१८ फागुन ७ गते विधिवत् स्थापना भएको संस्था हो । नेपाल सरकारको आधिकारिक समाचार समितिको रूपमा रहेको यो संस्था सुरुमा राष्ट्रिय संवाद समितिको रूपमा स्थापना भएको हो । नेपाल संवाद समिति र सगरमाथा संवाद समितिलाई एकीकृत गरी राष्ट्रिय संवाद समिति बनाइएको हो । यो संस्था विसं २०२८ मा ऐन संशोधनपछि राष्ट्रिय समाचार समितिमा रुपान्तरण भयो । यो अवधिमा राससले अनेकौँ आरोह–अवरोह पार गरेको छ । पञ्चायत, बहुदल, सशस्त्र द्वन्द्व हुँदै लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुग्दा राससले राज्य र सरकारको पक्षमा निरन्तर कलम चलाउँदै आएको छ ।

‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूलमन्त्रअनुसार राज्यले दिने सेवा र सरकारको कामका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण गरेर राससले अलग्गै पहिचान बनाउन सफल भएको महाप्रबन्धक राईको भनाइ छ ।

उनले राससलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य विभिन्न निकायहरू, अन्तरिकरूपमा सहयोग गर्ने कार्यालयमा महाशाखा प्रमुख, विभागीय प्रमुख, सम्पादक, समाचारदाता र कर्मचारी सबैलाई हार्दिक आभार र धन्यवादसमेत व्यक्त गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्