Logo

सामाजिक रुपान्तरणका लागि रासस अग्रमोर्चामा : महाप्रबन्धक राई



काठमाडौँ,७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले मौलिक अधिकारका रुपमा रहेको सूचनाको हकको सुनिश्चितताका लागि राससले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।

राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले छ दशकभन्दा लामो समयका विभिन्न आरोहअवरोहलाई चिर्दै संस्थाले ‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूल मन्त्रलाई सधैँ केन्द्रमा राखेर काम गर्दै आएको बताए। राज्यले दिने सेवा र सरकारको गतिविधिका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना पु¥याएर संस्थाले अलग पहिचान स्थापित गरेको उनको भनाइ छ ।

“आधिकारिक र सत्यतथ्य समाचार सम्प्रेषण गरी नागरिकको सूचनाको हक सुनिश्चित गराउन र सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न राससले आफूलाई अग्रमोर्चामा उभ्याएको छ”, उनले भने । स्थापनाको ६२ वर्ष अवधिमा पञ्चायत, बहुदल, सशस्त्र द्वन्द्व हुँदै लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुग्दा राससले राज्य र सरकारका पक्षमा निरन्तर कलम चलाएको महाप्रबन्धक राईले उल्लेख गरे ।

आजको प्रविधिको युगमा आफूलाई समयानुकूल बनाइ सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न राससले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ । यसअघि नेपाली र अङ्ग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, आलेख, फोटो र अडियो सेवा सञ्चालन गर्दै आएको राससले अहिले आफ्नो सेवालाई विविधीकरण गर्दै भिडियो र विचार सेवाकोसमेत सुरुआत गरेको छ ।

राससले आफ्नो सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय कार्यालयसँगै सात प्रदेश कार्यालय र ११ ठूला सहरमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरिरहेको छ । हालसम्म राससबाट चार सय नौ सञ्चार संस्थाले सेवा लिइरहेको उल्लेख गर्दै महाप्रबन्धक राईले सेवा प्रवाहलाई थप व्यवस्थित गर्न नयाँ सेवाग्राही निर्देशिका लागू गरेकोसमेत बताए ।

खर्चमा मितव्ययिता र कर्मचारीको कुशल व्यवस्थापनका विषयलाई पनि राससले महत्व दिएको उनले उल्लेख गरे । “सरकारको नीतिअनुसार राससले कार्यालयमा हुने आन्तरिक खर्च र इन्धन खर्च घटाउने प्रयास गरेको छ, आन्तरिक समस्याले रोकिएको राससको पदपूर्ति प्रक्रियालाई लोकसेवा आयोगसँगको सहकार्यमा प्रक्रिया अगाडि बढाएका गरेका छौँ, लोकसेवाको परीक्षापछि रोजगारीबाट विमुख भएका अस्थायी र ज्यालादारी पत्रकारका सन्दर्भमा छुट्टै व्यवस्थापन गरी समस्या समाधान गरिएको छ”, महाप्रबन्धक राईले भने ।

सबै कर्मचारीलाई आफ्नो कामप्रति जिम्मेवार बनाउन कार्यसम्पादन सम्झौता गरिएको उनको भनाइ छ । विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ऐन र विनियमावली संशोधनका क्रममा रहेको पनि उनले जानकारी दिए । “रासस ऐन, २०१९ पटकपटक संशोधन भए पनि राससको वर्तमान अवसर र चुनौतीलाई त्यसले सम्बोधन गर्न सकेको छैन, त्यसैले ऐनको पुनःलेखन गरी संशोधनको अन्तिम मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएका छौँ, हाल विनियमावली संशोधन र सङ्गठन संरचनालाई पुनःनिर्माण गर्ने कार्य भइरहेको छ”, राइले भने ।

राससले आफ्नो सेवालाई विविधीकरण गर्दै गत साउन १ गतेदेखि श्रव्यदृष्य (भिडियो) सेवा सञ्चालमा ल्याइसकेको छ । गत साउनदेखि विज्ञको विचार र लेख पनि राससले सम्प्रेषण गर्न थालेको छ । सेवालाई प्रभावकारी बनाउनका लागि एकीकृत सफ्टवेयर जडान गरी सञ्चालन गर्ने तयारी भइरहेको छ । राससले २०७८ फागुन १ गतेदेखि २०७९ माघ २९ गतेसम्मको एक वर्ष अवधिमा एक लाख ३८ हजार १२ समाचार सामग्री सम्प्रेषण गरेको छ ।

भौतिक संरचना निर्माण तथा व्यवस्थापनको कामलाई प्राथमिकतामा राखिएको पनि महाप्रबन्धक राइले बताए । राससको प्रधान कार्यालयस्थित नयाँ भवन निर्माण सम्पन्न भएको, चितवनको भरतपुरमा अत्याधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रियस्तरको आवासीय राष्ट्रिय तालिम केन्द्र भवन निर्माण कार्य अघि बढेको र आठ कार्यालय भवन मर्मतको काम भइरहेको उनको भनाइ छ । त्यस्तै पोखरा र काँकडभित्तामा रहेको जग्गालाई उपयोगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।

राससले आफ्नो सेवालाई प्रभावकारी बनाउन निर्वाचन रिपोर्टिङ, श्रव्यदृष्य रिपोर्टिङ र संसदीय रिपोर्टिङ तालिम सम्पन्न गरेको उल्लेख गर्दै महाप्रबन्धक राईले छिमेकी देश भारत र चीनका समाचार संस्थासँग सहकार्य तथा समन्वय भइरहेकोसमेत बताए । भारतको प्रेस ट्रस्ट इन्डिया (पिटिआई), एएनआई, चीनको सिन्ह्वा र हङकङ स्याटलाइट टेलिभिजनसँग विभिन्न चरणमा छलफल तथा अन्तक्र्रिया गरिएको उनले बताए ।

रासस व्यवस्थापनले भविष्यमा गर्नुपर्ने कामको योजना बनाउन थालेको पनि महाप्रबन्धक राईले बताए। “केही जनशक्ति व्यवस्थापन गर्नसके राससले सेवा विस्तारका लागि २४सै घण्टा समाचार सेवा सञ्चालन गर्ने योजना बनाएको छ”, उनले भने । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला करिब १० दिन राससले २४ घण्टा सेवा सञ्चालन गरेकामा सबै क्षेत्रबाट त्यसको सकारात्मक प्रतिक्रिया आएको उनको भनाइ छ ।

राससले श्रव्यदृश्य सामग्रीको प्रत्यक्ष प्रसारण सेवा सुरु गर्ने, खोज÷अनुसन्धान ब्युरो बनाउने, स्थानीय भाषामा समाचार सेवा सञ्चालन गर्ने योजना बनाइरहेको पनि उनले उल्लेख गरे।

त्यस्तै राससका पुराना कागजपत्र र ऐतिहासिक तस्बिर, समाचार र सामग्री राखेर कार्यालयको भुइँतलामा मिनी सङ्ग्रहालय बनाउने, स्मार्ट कार्यालयको अवधारणाअनुसार ‘पेपरलेस’ प्रविधिको प्रयोग गर्ने, समाचार र प्रशासनलाई प्रविधिमैत्री बनाउने योजना रहेको पनि उनको भनाइ छ । रासस

 



प्रतिक्रिया दिनुहोस्