काठमाडौं, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा व्यक्ति खोज्ने बताउँदै आएका छन् । तर, राष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारी दर्ताको दिन नजिकिएसँगै प्रधानमन्त्री दाहाल आँफै चेपुवामा परेका छन् ।
एमालेसहित विभिन्न दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले २६ पुषमा संसद्मा कांग्रेसको पनि विश्वासको मत पाएपछि भने राष्ट्रपतिमा साझा व्यक्ति ल्याउने बताउँदै आएका थिए ।
एमालेले भने पुष १० गते नै आफूहरुले राष्ट्रपति पाउने सहमति भएको भन्दै सो सहमति पालना गर्न प्रचण्डलाई दबाब दिएको छ । अहिले राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न कांग्रेस नेताहरु बालुवाटारमा छन् । प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनबारे निर्णय लिन भोलि (सोमबार) पार्टी पदाधिकारीको बैठक डाकेका छन् ।
प्रचण्डनिकट उच्च स्रोतकाअनुसार राष्ट्रपतिमा उनले सबै दलले स्विकार गर्नसक्ने व्यक्ति अघि सार्न खोजेका छन् । त्यसकोलागि उनले पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पहिलो प्राथमिकतामा राखेका छन् । दाहालले आफूनिकटका नेताहरुसँग श्रेष्ठलाई अघि सार्ने संकेत गरेका छन् । तर, एमाले र कांग्रेस दुवै दलले राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार अघि सार्ने तयारी गरेका छन् ।
दाहालले अघि सार्न खोजेका कल्याण श्रेष्ठको नाममा सहमति हुने सम्भावना पनि रहेको माओवादी नेताहरुमा विश्वास छ । यदि कल्याणको नाममा सहमति नभए दोस्रो जनआन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका र नेपाल बार एशोसिएशनको अध्यक्ष भैसकेका बरिष्ठ अधिवक्ता शम्भु थापालाई पनि अघि सार्ने दाहालको तयारी छ ।
दाहालले कल्याण श्रेष्ठ र शम्भु थापाको नाम अघि सार्न थालेका छन् । भोलिसम्म राष्ट्रपतिको उम्मेदवार चयनबारे एउटा निश्कर्षमा पुर्याउनेगरि प्रचण्डले छलफल थालेका छन् । प्रधानमन्त्री दाहाल आफ्ना पूर्व सहयोद्धा डा. बाबुराम भट्टराईको नाममा सहमति जुटाउने प्रयासमा थिए ।
हिजोसम्म दाहाल बाबुरामकै नाममा सहमति जुटाउने कसरतमा थिए । तर, एमाले र कांग्रेस दुवै दलले बाबुरामको नाममा छलफल नै गर्न चासो नदेखाएपछि प्रचण्ड कल्याण र शम्भुमध्ये एकलाई अघि बढाउने निधोमा पुगेका हुन् ।
कांग्रेस नेताहरुको प्रतिक्रिया लिएपछि दाहाल कसरी अघि बढ्ने भन्नेबारे भोलि पार्टीको पदाधिकारी बैठकमा पेश हुने र सोहीअनुसार निर्णय लिने उनको तयारी छ । भोलि नै दाहालले एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बुझिएको छ ।
राष्ट्रपतिको निर्वाचनले गर्दा सत्ता गठबन्धन नै संकटमा परेको छ । प्रचण्ड आँफैले राष्ट्रपतिमा साझा सहमति खोज्ने भनेकोले उनी पनि अहिले अलमलमा छन् । उनले राष्ट्रपतिमा कसरी साझा सहमति जुटाउलान ? भन्ने विषय अहिले पर्खाईको विषय बनेको छ ।
उनले लिने निर्णयले माओवादीको आगामी राजनीतिक भविष्यको पनि निधो गर्ने र सरकारको आयुबारे पनि स्पष्ट संकेत गर्ने भएकोले धेरैले माओवादीले राष्ट्रपतिबारे लिने निर्णयलाई महत्वका साथ हेरेका छन् । file photo