Logo

शीर्ष नेताहरू होसियारीका साथ पुरानै गठबन्धन ब्युँताउन लाग्नुभएको छः कांग्रेस नेता



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले राष्ट्रपति निर्वाचनका सन्दर्भमा पुरानो गठबन्धन ब्युँताउने कोसिस भइरहेको बताएका छन् ।
‘हाम्रो असावधानीले टुटेको पुरानो गठबन्धनलाई फेरि कायम गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी लागिरहेको स्थिति छ । हिजोदेखि कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच पनि छलफल सुरु भएको छ । हामी राजनीतिलाई परिणाममुखी बनाउनका निम्ति नयाँ समीकरणको नजिक पुगेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले भने ।
राष्ट्रपतिको निर्वाचनमा मात्र माओवादी र कांग्रेस मिलेर जाने हो वा सत्ता साझेदारी नै गर्ने हो भन्ने छलफल बाँकी भएको पनि उनले औंल्याए । विश्वकर्माले थपे, ‘को कति महिना, कति वर्ष प्रधानमन्त्री बन्ने वा ५ वर्ष प्रचण्डलाई प्रधानमन्त्री छोड्ने कि नछाड्ने भन्ने मुख्य कुरा होइन । हामीले चुनावमा जाँदा हाम्रो वृहत् राजनीतिक उद्देश्य छ, सानोतिनो कुरामा टुट्दैनौं भनेकै हौं । समयमै समझदारी बनाउन नसक्दा टुट्यो । त्यसैले पुरानो गठबन्धन ब्युँताउन होसियारीका साथ शीर्ष नेताहरु लागिरहनुभएको छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवार प्रस्ताव गरे कांग्रेसले के गर्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेता विश्वकर्माले प्रचण्डले कांग्रेसलाई साथमा लिएर हिँड्ने ठोकुवा गरे । उनले भने, ‘ओलीको राजनीति छिर्के हान्ने खालको हो । उहाँले माधवकुमार नेपाललाई अघि सार्ने कुरामा मलाई विश्वास लाग्दैन । नेपालका राष्ट्रिय नेताहरुमा माधव नेपाल सबभन्दा जिम्मेवार नेता हुनुहुन्छ । उहाँले आफ्नो बारेमा उपयुक्त निर्णय गर्नुहुन्छ । प्रचण्डजी मुलुकमा नयाँ छाप छोडेर जानका निम्ति  बिना संकोच र अलमल कांग्रेसलाई साथ लिएर जानुहुन्छ ।’
राष्ट्रपतिमा गैर राजनीतिक व्यक्ति उपयुक्त नहुने पनि उनले ठोकुवा गरे । विश्वकर्माले भने, ‘दलभित्रै होनहार व्यक्ति हुँदाहुँदै बाहिर किन खोज्ने ? दलीय व्यवस्थामा निर्दलीय राष्ट्रपति खोज्नु आवश्यक छैन । र, पार्टीका शीर्ष नेताहरुमध्येबाटै राष्ट्रपति बन्नुहुन्छ ।’ कांग्रेसले पदाधिकारी बैठक बसेर उम्मेदवार टुंग्याउने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot