काठमाडौं, फागुन ८ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा पार्टी पदाधिकारीबाट निर्णय गर्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
नयाँ राष्ट्रपतिका विषयमा आधिकारिक निर्णय लिन माओवादी केन्द्रले सोमबार दिउँसो ४ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ। बैठकअघि आइतबार साँझ प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासहित पाँच शीर्ष नेतासँग बालुवाटारमा छलफल गरेका हुन्।
देउवासँगै नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्री गगनकुमार थापा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए। प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुग्नुअघि सभापति देउवा निवासमा पौडेल, खड्का र सिटौलाबीच छलफल भएको थियो। उपत्यकाबाहिर रहेका उपसभापति खड्का सोमबार काठमाडौं आउने कार्यक्रम रहे पनि देउवाले आइतबार नै बोलाएका हुन्।
दाहालसँगको भेटमा कांग्रेसले पुरानो गठबन्धनलाई निरन्तरता दिनेगरी राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न प्रस्ताव राखेका थिए। कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको बताउँदै नेताहरूले यसमा माओवादीको समर्थन र सहयोग खोजेको धारणा राखेका थिए।
प्रधानमन्त्री दाहालले कांग्रेस प्रस्तावमा आफू सकारात्मक रहेको जनाउँदै सोमबार बस्ने पदाधिकारी बैठकमा छलफलका लागि उक्त विषय राख्ने आश्वासन दिएका छन्। पदाधिकारी बैठकबाट राष्ट्रपतिका विषयमा निर्णयमा पुग्ने आश्वासन कांग्रेस नेताहरूलाई दिएको स्रोतको दाबी छ। एमालेलाई राष्ट्रपतिमा सहयोग गरेर जान सक्ने अवस्था नभएको भन्दै माओवादी एक पदाधिकारीले भने, ‘सोमबारको बैठकले राष्ट्रपतिमा रहेको दुविधालाई अन्त्य गर्ने र पार्टीले नयाँ ढंगबाट अघि बढ्ने निर्णय लिन सक्ने सम्भावना छ।’
यसअघि शनिबार प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस नेता विमलेन्द्र निधि बालुवाटार पुगेका थिए। त्यसक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा पार्टी पदाधिकारीबाट निर्णय लिनुअघि कांग्रेस सभापति देउवासँग उम्मेदवारसहितका विषयमा छलफल गर्ने बताएको स्रोतको दाबी छ।
सोहीअनुसार दाहालले आइतबार कांग्रेस नेताहरूसँग छलफल गरेको जानकारी दिँदै माओवादी केन्द्रनिकट स्रोतले भन्यो, ‘केही दुविधा र आशंका कांग्रेससँग छन्। त्यसलाई हटाउने प्रयासस्वरूप यो भेट भएको हो।’ पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर कांग्रेसले निर्वाचनअघिको गठबन्धनलाई निरन्तरता दिने रणनीति अख्तियार गरेको छ।
प्रधानमन्त्रीमा कांग्रेसबाट विश्वासको मत पाएका दाहालले पुस १० गतेको अवस्था फेरिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सार्दै आएका छन्। पूर्वसहमतिबाट माओवादी केन्द्र पछि हटेको भन्दै सत्ता साझेदार एमालेले असन्तुष्टि जनाउँदै आएको छ। नागरिक दैनिकबाट