Logo

माधव नेपाललाई सूर्य थापाको कटाक्ष– एमालेले कुनै खेतालालाई होइन, आफ्नो पार्टीकै उम्मेदवारलाई राष्ट्रपति बनाउँछ



काठमाडौं, ८ फागुन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधवकुमार नेपाललाई अघि सार्नै नसक्ने ठोकुवा गरेका छन् ।
‘हाम्रा अध्यक्षले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सार्ने भन्ने कुरा यता फायरिङ गर्ने, उता निशाना लगाउने चालबाजी मात्र हो । आजको मितिसम्म पार्टी विभाजनकारी माधव नेपालले कुन रियलाइजेसन गर्नुभएको छ र ? एमालेले कुनै खेताला राष्ट्रपति होइन, आफ्नो पार्टीकै उम्मेदवारलाई राष्ट्रपति बनाउँछ । सबै चिज आजको स्थितिमा रहेको अवस्थामा त्यो सम्भव छैन । प्रचण्डले माधव नेपालको नाम लिनुभयो कि लिनुभएन ? न प्रचण्डले भन्नुभएको छ, न शेरबहादुरले भन्नुभएको छ । तपाईंहरुले नै न्युजको स्कुप बनाउन खोजेको हो कि ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।
एमाले नेता थापाले कांग्रेसले राष्ट्रपतिका निम्ति प्रचण्डसँग कान समातेर उठबस गरिरहेको आरोप लगाए । उनले भने, ‘कांग्रेसले राष्ट्रपतिका निम्ति प्रस्ताव राख्नु कुन आश्चर्य भयो र ? प्रधानमन्त्रीको समय लियो होला, अनेक याचना, अनुनय, विनय गर्‍यो होला । केही जानेनौं, बिरायौं भनेर कान समातेर उठबस गर्‍यो होला । राष्ट्रपति मछली बजारमा बिक्रीमा राखिएको पद हो र ?’ राष्ट्रपति संस्थालाई नै बदनाम गर्ने षडयन्त्र भइरहेको आरोप पनि उनले लगाए ।
साथै उनले दुइटा नाउमा खुट्टा हाल्दा दुर्घटनामा पर्ने चेतावनी पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिए । उनले भने, ‘यस्तो अनैतिक, अराजनीतिक र गलत अनि दिग्भ्रिमित कुरा गर्न मिल्छ ? एउटाको सिता खायो, अर्कोको गीता गायो गर्न मिल्छ ? पुरानो गठबन्धन ब्युँताउने कोसिस होला तर मैले सम्भव देखेको छैन । प्रचण्ड ७६(२) बाट बाहिर गए त्यसपछि ७६(३) को सरकार बन्छ । त्यसैले पुष्पकमल दाहाल एमालेलाई राष्ट्रपति दिनैपर्ने नैतिक बन्धन र लक्ष्मणरेखामा हुनुहुन्छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवालाई तपाईंहरु राष्ट्रिय सहमतिको राष्ट्रपति मान्ने कि नमान्ने भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, ‘कांग्रेसको उम्मेदवार को हो ? रामचन्द्र सिटौला, कृष्ण सिटौला कि को ? पुस १० को सहमति अनुसार एमालेकै निम्ति राष्ट्रिय सहमति बनाऊँ न । शेरबहादुर देउवाको नाम निर्णय प्रक्रियामा सहभागी नगराइने रमिते महामन्त्रीले लिइरहनुभएको छ । शेरबहादुरलाई राष्ट्रपति दिए हामी नेतृत्वमा आउँछौं, भन्ने लाग्या होला । यसलाई त देउवाले आफ्नो विरुद्धको प्रस्ताव ठान्नुहुन्छ । शेरबहादुर राष्ट्रपति हुने क्यारेक्टर वा क्षमताको मानिस हो र ?’
एमालेले विष्णु रिमाललाई राष्ट्रपतिका रुपमा अघि सार्ने सम्भावना भएको पनि उनले औंल्याए । थापाले थपे, ‘एमालेमा राष्ट्रपतिका रुपमा प्रस्तुत गर्न सकिने थुप्रै उम्मेदवार हुनुन्छ । एमाले राष्ट्रपति उत्पादन गर्ने नर्सरी हो, कारखाना हो । विष्णु रिमाल त्यस्तो इच्छा राख्ने नेता होइन । तर उहाँ पार्टीको उपमहासचिव हो । उहाँ कुनै बेला टे«ड युनियन महासंघ (जिफन्ट) को अध्यक्ष हुँदा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी जिफन्टको महिला विभाग प्रमुख हुनुहुन्थ्यो । त्यसैले त्यो पनि असम्भव छैन ।’



प्रतिक्रिया दिनुहोस्