काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई भेटेर राष्ट्रपति प्रस्ताव गरेको बारेमा कुनै जानकारी नभएको बताएका छन् ।
‘केपी ओलीले हाम्रा अध्यक्ष माधवकुमार नेपाललाई तपाईं राष्ट्रपति बन्नुस्, पार्टी एकता गरौं भनेको भन्ने कुरा सत्य होइन । यी प्रायोजित समाचार हुन् । यसबारे मलाई जानकारी छैन । पार्टीलाई औपचारिक जानकारी छैन । प्रचार विभागमा जानकारी छैन । अहिले हामीबीच अनौपचारिक छलफल पनि भएको छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।
एकीकृत समाजवादी एउटा पदका लागि बार्गेनिङ गर्न बनेको पार्टी नभएको दाबी पनि उनले गरे । खतिवडाले भने, ‘अहिलेसम्म हामीबीच अत्यन्त वैमनष्यपूर्ण सम्बन्ध छ । कसैले एउटा पदमा प्रस्ताव राख्ने र अर्कोले स्वीकार गर्ने प्रकारको सम्बन्ध नै छैन । राजनीतिक संवाद नै सुरु भएको छैन । त्यसैले यसको तात्विक महत्त्व छ जस्तो पनि लाग्दैन । एकीकृत समाजवादी एउटा पदका लागि बार्गेनिङ गर्न बनेको पार्टीे होइन ।’
तत्काल दुई पार्टीबीच एकताको सम्भावना नदेखिएको पनि खतिवडाले औंल्याए । उनले भने, ‘एमालेको रणनीति के छ, उहाँहरु नै जान्नुहुन्छ । सत्य कुरा के हो भने अहिलेसम्म माधव नेपालले म राष्ट्रपति बन्न चाहन्छु, ठीक छ भन्नुभएकै छैन । एउटा पदसँग जोडिएर मात्र संवाद हुँदैन । पार्टी एकता छुमन्तर गरिने विषय होइन । बाटोमा भेट हुँदा हेलो, नमस्कार गर्नु बेग्लै हो । जोसँग सुसम्बन्ध नै छैन, त्यससँग एकताको चर्चा गर्नु हास्यास्पद हो । कुनै दिन त्यस्तो ठोस प्रस्ताव आएछ भने बैठक बसेर धारणा बनाउँला नि ।’