Logo

ओलीका निश्चित सर्त नमानी माधव नेपालले राष्ट्रपति पाउनुहुन्नः माओवादी नेता



काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले आफ्नो पार्टीले माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि नसारेको स्पष्ट पारेका छन् ।
‘हामीले सुरुदेखि नै राष्ट्रपतिका निम्ति राष्ट्रिय सहमतिमा जाने भन्दै आएका थियौं । हिजो त्यही नीतिगत निर्णय गरेका छौं । संविधानको कार्यान्वयन र शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउने व्यक्तिको खोजी गर्ने कुरा हो । तर व्यक्ति वा नाममा केही निर्णय गरेनौं । अझै चार दिनको टाइम मस्तै छ नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै आचार्यले भने ।
केपी ओलीले निश्चित सर्त नमानी माधव नेपाललाई राष्ट्रपति नदिने ठोकुवा आचार्यको छ । उनले थपे, ‘विगतमा राष्ट्रपतिका विरुद्ध सडकमा ओर्लनुपर्ने स्थिति आयो । त्यसैले यसबारे नेपाली कांग्रेस र एमालेसँग गम्भीर बहस गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो । राष्ट्रपतिमा दर्जनौं नाम छन् । माधव नेपाल सम्भावित नाम त हो । तर माधव कमरेडको नाममा त्यस्तो कन्फर्म भएजस्तो लाग्दैन । केपी ओलीले निश्चित सर्त नमानी उहाँलाई राष्ट्रपति दिनुहोला जस्तो लाग्दैन ।’
आफ्नो पार्टी कुनै नाम घोषणा गरेर सहमति खोज्ने भन्दा पनि सबैको समझदारीमा सामूहिक निष्कर्षमा पुग्ने पक्षमा रहेको पनि आचार्यले औंल्याए । उनले भने, ‘जसले राष्ट्रिय सहमति भनेको छ, उसले नै एउटा नाम बोकेर हिँड्दा अरुको भावनामा ठेस पुर्याएजस्तो हुन्छ । हामीले भनेजस्तो सहमति भएन भने हामी राष्ट्रिय सहमति भनेर बस्दैनौं ।’
आफ्नो पार्टीले एमालेलाई कुनै बेइमानी नगरेको आचार्यको दाबी छ । उनले भने, ‘प्रदेशको मुख्यमन्त्रीजस्तो राष्ट्रपतिमा जसलाई उठाउँछौ, उठाऊ भन्न सकिँदैन । फागुन १५ गतेसम्म उम्मेदवारी फिर्ता लिने समयसम्म हुन्छ, त्यतिबेलासम्म परिस्थितिले ठोस आकार लिन्छ । यो बेइमानी वा ढाँटछल केही होइन । समय बदलिएको दृष्टान्त हो ।’



प्रतिक्रिया दिनुहोस्